काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता साढे ४९ अर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
यस अवधिमा चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु. २ अर्ब ७१ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८५ करोड ८ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु.३ अर्ब रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ ।