तीन महिनामा सरकारको बजेट खर्च १७ प्रतिशत, साढे दुई खर्ब उठ्यो राजस्व 

तीन महिनामा सरकारको बजेट खर्च १७ प्रतिशत, साढे दुई खर्ब उठ्यो राजस्व 

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म सरकारको बजेट खर्च करिब १७.७२ प्रतिशत देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा कूल विनियोजनको १७.७२ प्रतिशत अर्थात् तीन खर्ब २९ अर्ब ५६ करोड ९८ लाख बराबर बजेट खर्च भएको हो ।

चालु आवका लागि सरकारले कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । यो अवधिमा चालुतर्फ २०.१८ प्रतिशत अर्थात् दुई खर्ब ३० अर्ब १४ करोड ७९ लाख बराबर खर्च भएको छ । चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बराबर विनियोजन गरेको थियो ।

पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर बजेट विनियोजन भएकोमा आठ दशमलव ३६ प्रतिशत अर्थात् २९ अर्ब ४४ करोड ७५ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा १९ दशमलव ५ प्रतिशत अर्थात् ६९ अर्ब ९७ करोड ४४ लाख बराबर खर्च भएको छ ।

यस अवधिमा सरकारले वार्षिक लक्ष्यको १७ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । चालु आवका लागि कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा असोज मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब २१ करोड ७९ लाख बराबर सङ्कलन भएको छ ।

यो अवधिमा सङ्कलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १७ दशमलव २७ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब ८२ करोड १४ लाख असुली भएको छ । कर राजस्वतर्फ सरकारले कूल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख बराबर वार्षिक लक्ष्य राखिएकोमा २१ दशमलव दुई प्रतिशत अर्थात् २८ अर्ब ६४ करोड २३  लाख बराबर सङ्कलन भएको छ ।

चालु आवका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन ।
 

थप समाचार