काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ८८ अर्ब ९३ करोड सरकारी ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण असोज मसान्तसम्म बढेर २५ खर्ब ३४ अर्ब नौं करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव २३ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा असोज मसान्तसम्ममा बढेर १२ खर्ब ३६ अर्ब ३० करोड पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६७ प्रतिशत बराबर हो । यो तीन महिनामा सरकारले एक खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउँदा ५९ अर्ब ६० करोड बराबर ऋण तिरेको छ ।
त्यस्तै, असोज मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ८६ अर्ब ७३ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।
पछिल्लो तीन महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २१ अर्ब ३१ करोड खर्च गरेको छ भने यहि अवधिमा नौं अर्ब ४३ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ५६ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा एक खर्ब ३६ अर्ब ३१ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति २४ दशमलव ९२ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । असोज मसान्तसम्ममा ८३ अर्ब सात करोड ८१ लाख बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।
यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा २० दशमलव ६२ प्रतिशत बराबर हो । जिडिपीको आधारमा असोज मसान्तसम्मको कुल ऋण सेवा खर्च एक दशमलव ४६ प्रतिशत बराबर हो ।