Below Menu
Below Menu

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४८५ प्रतिशतले बढ्यो, नाफामा उल्लेख्य वृद्धि 

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४८५ प्रतिशतले बढ्यो, नाफामा उल्लेख्य वृद्धि 

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७२०.५३ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले एक करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफा बढेको हो । साथै कम्पनीको वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशतले बढेर सात करोड ७४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी एक करोड ३२ लाख ३५ हजार रुपैयाँ रहेको थियो । 

गत वर्षको असोज मसान्तसम्ममा चार करोड २० लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिसम्ममा आइपुग्दा एक करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । 

गत वर्ष ६ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च ४३.६३ प्रतिशतले घटेर ३ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।
असोज मसान्तसम्म तीन अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा २५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । 
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ ।
 

Advertisment