काठमाडौं : साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १६.०७ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ३.९३ प्रतिशतले घटेर ८६ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ८९ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
गत वर्षको असोज मसान्तसम्ममा ३२ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिसम्ममा आइपुग्दा २३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म तीन अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा दुई अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ । गत वर्षको तुलनामा रिजर्भको आकार १८.६७ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको भने मूल्य आम्दानी अनुपात १०.६० गुणा रहेको छ ।
Advertisment