काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ शुक्रबार (कात्तिक ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँट हुने भएको हो ।
कम्पनीको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । एफपीओमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन् । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । आवेदन दिएकामध्ये ३५ हजार ९० जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।
Advertisment