Below Menu
Below Menu

बाढी पहिरोको क्षतिमा साढे १२ अर्बको बीमा दाबी, ६१ करोड बढी भुक्तानी 

बाढी पहिरोको क्षतिमा साढे १२ अर्बको बीमा दाबी, ६१ करोड बढी भुक्तानी 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले बाढी पहिरोको क्षतिको हालसम्म ६१ करोड रुपैयाँ भुक्तानी गरेका छन् । गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण भएको क्षति वापत कम्पनीहरुमा करिब १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २८ गतेसम्म १८ बीमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमध्ये कम्पनीहरुले ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेका हुन् । 

यस अवधिमा कम्पनीले ९०२ वटा दाबीमा सो रकम बराबरको भुक्तानी गरेका हुन् । तथापी उक्त रकम आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । 

प्राधिकरणका अनुसार यस अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी चार वटा निर्जीवन लघु बीमा कम्पनी गरी ३ हजार ४१८ वटा दाबी परेका छन् । 

वर्षा कारण निम्तिएको बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै नागरिकको घर, सम्पत्ति तथा संरचनाहरू समेत अर्बौको हानीनोक्सानी भएको छ । 

यस अवधिमा समग्र बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीले ३६५ वटा दाबीको २६ करोड ६ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको हो । 

प्राधिकरणका अनुसार हालसम्म हिमालयन एभरेष्ट इन्स्योन्सले ५० वटा  दाबी वापतको चार करोड ६१ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १०१ वटा दाबी वापत ६ करोड ९० लाख ५५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियलले तीन करोड ९ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको छ । 

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ८२ लाख ५७ हजार, सिद्धार्थ प्रिमियरले नौं करोड ३७ लाख ३९ हजार रुपैयाँ र  सानिमा जीआईसीले दुई करोड २५ लाख ३८ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।


 

Advertisment

थप समाचार