काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सवा ५ अर्ब रुपैयाँ बराबरको शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा ३ अर्ब ४३ करोड बराबरको बोनस शेयर, ए अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
२०८० असोज मसान्तमा १८६४.६२ रहेको नेप्से सूचकाङ्क २०८१ असोज मसान्तमा २७४२.८९ कायम भएको छ । यस अवधिमा धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड कायम भएको छ । गत वर्षको असोज मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रहेको थियो ।
चालु आवको असोज मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
गत वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २६३ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।
असोज मसान्तमा नेप्सेमा सूचीकृत ८ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ८ अर्ब ३२ अर्ब ९ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब ६ करोड बराबरको हकप्रद शेयर र रु.७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Advertisment