काठमाडौं : धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका २०८१ जारी गरेको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका जारी गरेको जनाएको छ ।
संशोधित व्यवस्था अनुसार गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले नेपालको शेयर बजारमा आईपीओ ल्याउने बाटो खुलेको छ ।
बोर्डले निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था गरेको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले शेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।
शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पूँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसका साथै बोर्डले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ ।
शेयर निष्कासनको लागि बिक्री खुला भएको अवधिमा भवितव्य वा अन्य कुनै कारणबाट स्वीकृत विवरणपत्रमा उल्लिखित विवरणमा तात्विक असर पर्ने गरी परिवर्तन भएमा सम्बन्धित शेयरको लागि आवेदन लिने कार्य स्थगन गरी त्यस्तो घटना र सोबाट परेको प्रभाव तथा परिवर्तन सम्बन्धी विवरण सम्बन्धित लगानीकर्ताको जानकारीको लागि निष्कासनकर्ता कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ र सो कुराको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । निष्काशन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
यस्ता कम्पनीको शेयर कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुने व्यवस्था धितोपत्र बोर्डले गरेको छ । शेयर कारोबार गर्दा न्यूनतम १ हजार कित्ता (इकाइ) गर्नुपर्नेछ । शेयर कारोबार गैरआवासीय नेपालीबीचमात्रै हुनेछ।
यस्ता कम्पनीले जारी गरेको शेयर बाँडफाँट भएको मितिले १ वर्षको अवधि पूरा नभई खरिदबिक्री गर्न पाइने छैन । तर, संस्थापक शेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने व्यवस्था धितोपत्र बोर्डले गरेको छ।संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ कार्य दिन अगाडि सबैको जानकारीको लागि आव्हानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
त्यसको जानकारी बोर्डलाई गराउनु पर्नेछ । प्रकाशन गरिने आव्हानपत्र वा निष्कासन सम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मितिभन्दा कम्तीमा एक कार्य दिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।
आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ । गैरआवासीय नेपालीको लागि हितग्राही खाता खोल्दा निक्षेप सदस्यले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछ ।
Advertisment