काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ३४ सय बढी इभि गाडी आयात भएका छन् ।
भन्सार विभाग तथ्यांकअनुसार कात्तिक मसान्तसम्म तीन हजार ४८७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।
यस अवधिमा सरकारले आठ अर्ब ३७ करोड ९ लाख रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो ।
उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा २५.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले ६ अर्ब ८३ करोड २७ लाख रुपैयाँ बराबरको २ हजार ७८७ युनिट विद्युतीय गाडी आयात गरेको थियो ।
विद्युतीय गाडीको आयातसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । गत वर्षको सोही अवधिमा इभि गाडीको आयातबाट २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने यस वर्ष आयातित गाडीबाट पाँच अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन ७४.८२ प्रतिशतले बढी हो ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा चार अर्ब ६२ करोड ८७ लाख मूल्यका दुई हजार ११५ गाडी भित्रिएका छन् ।
सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।
कात्तिक मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका एक अर्ब ८८ करोड ९३ लाख मूल्य बराबरका एक हजार ५० युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटका ३१६ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका चार ओटा गाडी भित्रिएका छन् भने ३०० किलोवाटमाथिका बिजुली गाडी २ युनिट आयात भएका छन् ।