काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आव २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभुत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर २.३१ प्रतिशत रहेको थियो ।
यस अवधिमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४.२३ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तोवृद्धिदर ३.६९ प्रतिशत रहको थियो
समीक्षा वर्षमा कृषि क्षेत्र तर्फ प्रदेशका ११ जिल्लाहरूमा प्रमुख कृषि बालीहरूले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७.७ प्रतिशतले हा्रस आई ४ लाख ३७ हजार ९७२ हेक्टर कायम भएको छ ।
तरकारी खेतीले ढाकेको क्षेत्रफल २.०७ प्रतिशतले वृद्धि भएको छ भने मसला, फलफूल खेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत र ८.३८ प्रतिशतले कमी आएको छ ।
त्यसैगरी प्रमुख कृषि बालीहरुको उत्पादनमा ४.७७ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४.७१ प्रतिशत, तरकारी उत्पादनमा ५.४४ प्रतिशत, फलफूल उत्पादनमा ३.८० प्रतिशत र मसला उत्पादनमा ४.५२ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दुधको उत्पादन ३.३८ प्रतिशत, अण्डाको उत्पादन १५.२९ प्रतिशत र मासुको उत्पादन १ प्रतिशतले ह्रास आएको छ भने माछाको उत्पादनमा ४.९९ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा २६.१९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ ।
त्यस्तै प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा रु. २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार उद्योग क्षेत्रतर्फ समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२.४ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा सिमेण्ट, ओइन्टमेन्ट औषधी, बिस्कुट, प्रशोधित दुध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छ भने ईटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधी, वियर, ट्याब्लेट औषधी, लिक्विड औषधी र क्याप्सुल औषधीको उत्पादनमा कमी भएको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८८ प्रतिशत अर्थात् रु. ३१ अर्ब १ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।
सेवा क्षेत्रतर्फ गत वर्षमा प्रदेशमा पर्यटक आगमनको संख्या ६.१ प्रतिशतलेवृद्धि भई ५५ हजार १ सय ४९ रहेको छ । त्यस्तै होटलहरुको शैया संख्या विक्री २४.३ प्रतिशतले वृद्धि भई ७३ हजार १ सय २६ रहेको छ भने होटलहरुको अकुपेन्सी ३०.७३ प्रतिशत रहेको छ जुन गत वर्ष २४.६१ प्रतिशत रहेको थियो ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । समीक्षा वर्षमा २१ हवाई कम्पनीमार्फत्उडान भई ११ हजार ४ सय ८५ पटक उडान भएकोछ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत रहेको थियो ।
गत वर्षमा यस प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हावी हनु, बसाईसराई लगायतका कारणले विद्यार्थी र शिक्षकको संख्यामा क्रमशः ३.४० प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको देखिन्छ । साथै, विद्यार्थी संख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्यसहरुको संख्यामा समेत २.८२ प्रतिशतले कमी आएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२.५ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ३४ अर्ब ४० करोड पुगेकोछ । कुल कर्जा प्रवाह भने १.७ प्रतिशतलेह्रास भई रु.३ खर्ब ४९ अर्ब ७ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९.९० प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७६ करोड पुगेको छ ।
त्यस्तै पूर्वाधार र रोजगारीतर्फ राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ६५.०७ प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८४ प्रतिशत रहेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७५ प्रतिशत र कास्की– पर्वत–बाग्लुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत रहेको छ भने तनहुँ जलविद्युत आयोजना तथा बुढिगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति क्रमशः ५८.१ प्रतिशत र १० प्रतिशत रहेको छ ।
यस प्रदेशका ८५ स्थानीय तहहरूले आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । सो अन्तर्गत सञ्चालित १ हजार १८ आयोजना मार्फत् कुल ७ सय २१ व्यक्तिले औसतमा ५४.२४ दिन रोजगारी पाएका छन् ।