काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा सरकारले शेयर बजारबाट सवा आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म लगानीकर्ताले सरकारलाई ८ अर्ब १६ करोड २६ लाख ६४ हजार रुपैयाँ बुझाएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ११६१.४७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा लगानीकर्ताले सरकारलाई ६४ करोड ७० लाख ७३ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए ।
पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएसँगै सरकारको राजस्व पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो ।
कुन महिना कति उठ्यो ?
सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार लगानीकर्ताहरुले कात्तिक महिनामा मात्रै ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् जुन गत वर्षको तुलनामा ८०१.६५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ तिरेका थिए ।
चालु आवको साउनमा लगानीकर्ताहरुले सबैभन्दा बण्ी ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए । त्यस्तै भदौंमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ र असोजमा ५८ करोड ट५ लाख ४० हजार रुपैयाँ उठेको थियो ।
साउन र भदौं महिनाको तुलनामा भने असोजमा शेयर बजारबाट सरकारले पाउने पुँजीगत लाभकर घटेको थियो । तर, कात्तिकमा भने उक्त राजस्व फेरी बढेको छ ।
Advertisment