Below Menu

‘अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्ने अवस्था छैन, बजारले लय समात्छ’ 

‘अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्ने अवस्था छैन, बजारले लय समात्छ’ 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा कुनै पनि उपकरण र कार्यदिशा हेरफेर गरिएको छैन ।

बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्याउने गरी तरलता व्यवस्थापन गर्दै आएको छ । 

अर्थतन्त्रको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा छ विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ । 

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । त्यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्दैन 

मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत व्यवसायी, बैंकर र शेयर बजारका लगानीकर्ताहरुले समेत केहि नीतिगत परिवर्तन खोजिरहेका छन् । तर राष्ट्र बैंकले पहिलो समीक्षामा कुनै पनि व्यवस्थामा परिवर्तन गरेको छैन । 

अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्ने अवस्था नरहेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ‘मौद्रिक नीतिको समिक्षामा नीतिगत परिवर्तन नभएपनि लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन । बजारले लय समात्छ ।’ 

यसका साथै उनले मौद्रिक नीतिको समिक्षालाई हेरेर लगानी गर्ने लगानीर्ताको मनोबलमा भने असर पर्नसक्ने बताईन् ।  

अर्का लगानीकर्ता छोटेलाल रौनियारले पनि मौद्रिक नीतिको समिक्षाले लगानीकर्त निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘राम्रो मौद्रिक नीतिको अपेक्षा गरेका थियौं । तर, नराम्रो पनि भएको छैन । दोस्रो समिक्षामा केही परिवर्तन हुने सुनिएको छ । लगानीकर्ता निराश हुनपर्दैन ।’ 

शेयर बजारका लगानीकर्ताले शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने र शेयर धितो कर्जाको सिमा हटाउनुपर्ने माग गरिरहेका थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको थियो । 

राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको थियो । हाल ५० लाखभन्दा बढी शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो । ५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । 

थप समाचार