काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
सूर्यज्योति र एनआरएनले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर २१ गते बुकक्लोज गर्दैछन् भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते आइतबार बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते, शनिबार सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ। । उक्त सभा बिग होटल, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पुस १२ गते, शुक्रबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा ९ बजे शुरु हुनेछ । सभाले प्रस्तावित कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशनको लागि प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते, बिहीबार, पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment