काठमााडौं : चालु आर्थिक वर्षको चार महिनामा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कात्तिक मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १५ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँले बढेको छ । गत वर्षको कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रहेको थियो ।
गत वर्षको कात्तिक मसान्तमा १८५२.०९ रहेको नेप्से सूचकाङ्क चालु आवको यस अवधिमा २७४८.७९ कायम भएको छ । कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ ।
सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। गत वर्षको कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।
नेप्सेमा सूचीकृत ८ अर्ब ४६ करोड शेयरको चुक्ता मूल्य ८ अर्ब ३४ अर्ब ७४ करोड रहेको छ । यस अवधिमा ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ६७ करोड बराबरको बोनस शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर र रु.१ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.७ अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ
Advertisment