Below Menu
Below Menu

राष्ट्रिय सहकारी महासंघको विज्ञ समूहको पहिलो बैठक सम्पन्न

राष्ट्रिय सहकारी महासंघको विज्ञ समूहको पहिलो बैठक सम्पन्न

काठमाडौं : राष्ट्रिय सहकारी महासंघद्वारा गठित विज्ञ समूहको पहिलो बैठक पौष ४ गते महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न भएको छ । 

महासंघको सचिवालयले २०८१ जेष्ठ १५ गते बसेको बैठकको निर्णयअनुसार महासंघको इतिहासमा पहिलो पटक सहकारी क्षेत्रका चुनौतीहरू पहिचान गर्दै समाधानका उपायहरूबारे सल्लाह सुझाव लिने उद्देश्यले विज्ञ समूह गठन गरिएको हो ।
बैठकको शुरुआत गर्दै महासंघकी अध्यक्ष मल्लले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका चुनौती र त्यसलाई समाधान गर्न आवश्यक पहलबारे जानकारी गराएकी थिइन्।

साथै, महासंघले अहिलेसम्म गरेका बहस, पैरवी र अन्य क्रियाकलापका विषयमा चर्चा गर्दै, यी प्रयासहरूलाई थप प्रभावकारी बनाउन विज्ञ समूहको भूमिका महत्वपूर्ण हुने बताए । बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल स्वागतमन्तव्य राखेका थिए । 

बैठकमा सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशीराज दाहाल, अधिवक्ता हिमा बस्नेत भट्टराई, राष्ट्रिय किसान आयोगका पूर्व सदस्य रविन्द्र केसी, नेपाल सरकारका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र शंकर पाण्डे, अर्थविद् डा. चन्द्रमणि अधिकारी र सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीले सहभागिता जनाएका थिए । विज्ञहरूले महासंघले आगामी दिनमा अवलम्बन गर्नुपर्ने कदमबारे सुझाव प्रस्ताव गरेका थिए । 

महासंघले सहकारी अभियानको उद्देश्य, प्राथमिकता, र भावी योजनाबारे स्पष्ट पोजिसन पेपर तयार गरी सार्वजनिक गर्नुपर्ने सुझाव विज्ञ समूहबाट प्राप्त भएको छ ।

सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समयसापेक्ष ऐन, नियम र नीतिहरूको संशोधन र कार्यन्वयनका लागि बहस र पैरवी गर्नुपर्ने, सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्ने, देशका ठूला सामाजिक, आर्थिक समस्याहरू समाधान गर्न सहकारीले खेल्न सक्ने भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिइएको थियो ।

महासंघकक उपाध्यक्ष खेम पाठकले विज्ञ समूहबाट प्राप्त सुझावहरूलाई महासंघको भावी कार्ययोजनामा समावेश गरी प्रभावकारी कदम चालिने प्रतिवद्धता जनाए । 

उपाध्यक्ष डिबी बस्नेत तथा सञ्चालक टेकप्रसाद चौलागाईको उपस्थिति थियो । महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको हालको अवस्था र गतिविधिहरूबारे प्रस्तुति दिँदै महासंघको सुदृढीकरणका लागि थप पहल आवश्यक रहेकोमा जोड दिइन् । 

विज्ञ समूहको यो बैठकले सहकारी क्षेत्रका विविध चुनौतीहरूको पहिचान र समाधानका उपायबारे ठोस मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार