काठमाडौं : गरिमा विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि उक्त कम्पनीहरुले भोली अर्थात पुस १८ गते बुकक्लोज गर्दैछन्। जस अनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
गरिमा विकास बैंकले पुस २९ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल पोखर ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै नेपाल टेलिकमले लाभांश पापिरत गर्न पुस २८ गते आइतबार, सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बुटवल पावर कम्पनीले पुस २८ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, धितोपत्रको थप सार्वजनिक निष्काशनको जानकारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साथै सभाले तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रालिमा हस्तान्तरण गर्ने, चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावर लिमिटेडमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment