Below Menu
Below Menu

स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार

स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार

बागमती ; मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादिन वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो ।

“पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन्”, स्थानीय सुमन चेपाङले भने, “गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।” यसले कृषकद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् ।

गाउँपालिकाको पहलमा प्रत्येक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीयलाई आफ्नो सामान बजारसम्म पुर्याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गरे । 

हाटबजारमा स्थानीयले उत्पादन गरेका वस्तु मात्र बिक्री वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।  स्थानीयको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले विसं २०७९ वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न सुरु भएको थियो ।

“विभिन्न कारणले केही महिनादेखि हाटबजार बन्द भएको थियो”, अध्यक्ष मल्लले भने, “आगामी दिनमा हाटबजारलाई निरन्तरता दिने गरी बजारको व्यवस्थापन गरेका छौँ ।” चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गोलगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ । यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बहुलता रहेको छ ।

Advertisment

थप समाचार