काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा सरकारले शेयर बजारबाट पौने १० अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म लगानीकर्ताले सरकारलाई ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर बुझाएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ४१८.५७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा लगानीकर्ताले सरकारलाई एक अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका थिए ।
पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएसँगै सरकारको राजस्व पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो ।
कुन महिना कति उठ्यो ?
सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार लगानीकर्ताहरुले पुस महिनामा मात्रै ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् जुन गत वर्षको तुलनामा ९१.९२ प्रतिशत अर्थात १६ करोड ३१ लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ तिरेका थिए ।
तर, सबैभन्दा बढी पुँजीगत लाभकर मंसिरमा उठेको छ । लगानीकर्ताले यस अवधिमा सरकारले एक अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो ।
जुन गत वर्षको सोही अवधिको तुलनामा ५३५.६० प्रतिशत अर्थात ८९ करोड ९१ लाख ५९ हजार ३९३ रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा लगानीकर्ताहरुले सरकारलाई १४ करोड १४ लाख ६५ हजार १२१ रुपैयाँ राजस्व बुझाएका थिए ।

चालु आवको साउनमा लगानीकर्ताहरुले सबैभन्दा बढी ४ अर्ब २७ करोड ५३ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए । त्यस्तै भदौंमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ उठेको थियो ।
शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।
Advertisment