Below Menu
Below Menu

शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पाँचथर पावरले बोलायो साधारणसभा 

शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पाँचथर पावरले बोलायो साधारणसभा 

काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे हुनेछ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । 

सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै यसका लागि आवश्यक सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गर्नेछ । सभाले हकप्रद शेयर निष्कासन पछि पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने,  चालु आवका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।  

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आयोजना निर्माण तथा मर्मतका लागि लिइएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर  जारी गर्न लागेको हो । 

कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । गत असार २ गते आएको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको र सोको मर्मतका लागि थप कर्जा लिनुपरेको कम्पनीले जनाएको छ । 

आयोजना पुनः सञ्चालनमा ल्याउन हाल आयोजनाको पुनः निर्माणको काम भइरहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार माघ १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् । 

Advertisment