Below Menu
Below Menu

बैंकहरुको वित्तीय अवस्था खस्किँदा सरकारको राजस्वमा समेत दबाब ! 

बैंकहरुको वित्तीय अवस्था खस्किँदा सरकारको राजस्वमा समेत दबाब ! 

काठमाडौं : पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको बढ्दो तरलता र खराब कर्जाको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । लामो समयदेखि कर्जा असुलीमा समस्या भोगिरहेको बैंकिङ क्षेत्र थप दबाबमा परेको हाे । 

चालु आर्थिक वर्षको पुस मसान्तमसम्मको तथ्यांकअनुसार बैंकहरूले अझै पनि कर्जा असुलीमा समस्या भोगिरहेको देखिएको छ । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको खराब कर्जा औसत १.०९ बिन्दुले बढेको देखिन्छ ।

यस अवधिमा आइपुग्दा बैंकहरूको औसत खराब कर्जा अनुपात ४.४९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकको एनपीएल ३.४ प्रतिशत थियो । 

एकातिर बैंकहरुको खराब कर्जाका ग्राफ बढ्दो छ । बैंकहरुले कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम केही घटेपनि बैंकहरुको खुद ब्याज आम्दानी समेत घट्दा नाफा खुम्चिदै गएको हो ।

पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३२ करोड ८२ लाख ४८ हजार रुपैयाँले कम हो । गत वर्ष बैंकहरुको नाफा २८ अर्ब ७६ करोड ५२ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा आइपुग्दा हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेको छ भने नौं वटा बैंकहरुको नाफा घटेको छ । 

सरकारी राजस्वमा समेत असर

खराब कर्जाको सिकारले बैंकहरुको नाफा प्रभावित भइरहेका बेला यता सरकारी राजस्व समेत केही गुम्न पुगेको छ । चालु आवको पुस मसान्तसम्म बैंकहरुको नाफा घटेसँगै यता आयकर भुक्तानी समेत घट्न पुगेको हो ।

पुस मसान्तसम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र विकास बैंकले यस अवधिमा आम्दानी वापतको ७ अर्ब ५१ करोड ४ लाख २६ हजार रुपैयाँ सरकारलाई बुझाएका हुन् । उक्त रकम गत आवको सोही अवधिको तुलनामा २ अर्ब १२ करोड १० लाख १८ हजार अर्थात २.२० प्रतिशतले कमी हो । 

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले सरकारलाई आयकर वापत कूल ९अर्ब ६३ करोड १४ लाख ४४ हजार रुपैयाँ बुझाएका थिए । 

वाणिज्य बैंकहरुले तिर्ने आयकर २४ प्रतिशतले घट्यो 

चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ६ अर्ब ३५ करोड २ लाख ११ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम गत आवको सोही अवधिको तुलनामा २४.६१ प्रतिशतले कम हो । 
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ८ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बुझाएका थिए ।

यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले पुस मसान्तसम्म सरकारलाई आम्दानी वापतको एक अर्ब ३९ करोड २१ लाख रुपैयाँ कर बुझाएको छ । 

यसैगरी सरकारी स्वमित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा सरकारलाई ३२ करोड ७० लाख रुपैयाँ आयकर बुझाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६४.२३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको छ महिनामा ८० करोड ७८ लाख ४३ हजार रुपैयाँ आयकर बुझाएको ग्लोबल आईएमई बैंकले यस अवधिमा ५३.१९ प्रतिशत बढी अर्थात एक अर्ब २३ करोड ७५ लाख ६६ हजार रुपैयाँ आयकर बुझाएको छ । 

यता गत वर्षको पुस मसान्तसम्म ५० करोड ५५ लाख रुपैयाँ आयकर तिरेको सिद्धार्थ बैं)कले यस वर्ष भने २३ करोड २४ लाख रुपैयाँ मात्र आम्दानी वापत सरकारलाई बुझाएको छ । 

यस अवधिमा नाफामा भारी गिरावट देखिएको एनआईसी एशिया बैंकले तिर्ने आयकरमा पनि कमी आएको छ । चालु आवको  पुस मसान्तसम्म बैंकले आयकर वापत सरकारलाई ६ करोड ५० लाख २७ हजार रुपैयाँ बुझाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७० करोड ५७ लाख ३१ हजार रुपैयाँ आयकर बुझाएको थियो ।

विकास बैंकले तिरे सवा एक अर्ब आयकर

हाल सञ्चालनमा रहेका विकास बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म सवा एक अर्ब रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक वर्षको तुलनामा यो ३.९७ प्रतिशतले कम हो । 

यता राष्ट्रिय स्तरका विकास बैंकको नाफा भने १६.०२ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा बैंकहरुले २ अर्ब २३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

दोस्रो त्रैमाससम्मको नाफाबाट भएको आम्दानीबाट विकास बैंकहरुले सरकारलाई एक अर्ब १६ करोड २ लाख १५ हजार रुपैयाँ आयकर बुझाएका छन् । जबकी गत आर्थिक वर्षको यसै अवधिमा विकास बैंकहरुले एक अर्ब २० करोड ८१ लाख ९९ हजार रुपैयाँ आयकर बुझाएका थिए । 

यस अवधिमा सबैभन्दा बढी आयकर तिर्नेमा गरिमा विकास बैंक रहेको छ । गत वर्षको सोही अवधिमा २१ करोड ९६ लाख ७८ हजार रुपैयाँ आयकर तिरेको बैकले चालु आवको पुस मसान्तसम्म २३ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर तिरेको छ । 

त्यसैगरी, यस अवधिमा मुक्तिनाथ विकास २१ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १३ करोड ९० लाख ६५ हजार, सांग्रिला डेभलपमेन्टले ८ करोड ८२ लाख र महालक्ष्मी विकास बैंकले १२ करोड ३२ रुपैयाँ आयकर तिरेका छन् । उक्त बैंकहरुले तिर्ने आयकर गत वर्षको तुलनामा केही घटेको हो ।

तुलनात्मक रुपमा यो वर्ष आयकर बढी तिर्नेमा सिन्धु विकास बैंक समेत रहेको छ भने ज्योति विकास बैंकले यो वर्ष १३१।४९ प्रतिशतले आयकर बढाएको छ । गत वर्ष सरकारलाई आम्दानी वापत ४ करोड ६३ लाख बुझाएको बैंकले यस वर्ष १० करोड ७१ लाख रुपैयाँ तिरेको हो ।

यस्तै यता कम आयकर तिर्नेको सूचिमा शीर्ष स्थानमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक (३४.४८) प्रतिशतले कम छ भने ग्रिन डेभलपमेन्ट बैंकले तिर्ने आयकरमा ३०.७२ प्रतिशतले र लुम्बिनी विकास बैंकको ३०.७२ प्रतिशतले घटेको छ । 
 

Advertisment