काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधमा आयात ७.०७ प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले बढेको छ । छ महिनामा नेपालले सवा सात खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपालले छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
पुस मसातसम्म नेपालले नौं खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
मुलुकले पुस मसान्तसम्म १६१ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १३१ देशसँगको व्यापार घाटामा रहेको छ भने ३० देशसँगको व्यापार नाफामा रहेको छ ।
नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग ४ खर्ब २९ अर्ब १४ करोड तीन लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
भारतबाट नेपालले यस अवधिमा ५ खर्ब २ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ ।
निर्यात ३१ प्रतिशतले बढ्यो
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको । पुस मसान्तसम्म सवा आठ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने करिब ९९ अर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।
विभागका अनुसार यस अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
Advertisment