Below Menu

वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’

वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा एकपछि अर्को गर्दै बिचलन आउन थालेपछि केन्द्रीय बैंकले निगरानी बढाउन थालेको छ । खासगरी क्षेत्रीय विकास बैंक ‘कर्णाली डेभलपमेन्ट बैंक’को दुर्घटनाबाट झस्किएको राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा पछिल्लो समय तीब्र निगरानी बढाउन शुरु गरेको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म (पुस मसान्तसम्ममा) राष्ट्र बैंकले सात विकास बैंकलाई नियामकीय कारबाही गरिसकेको छ ।

लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, साल्पा विकास बैंक, गरिमा विकास बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक र कर्णाली विकास बैंकलाई केन्द्रीय बैंकले नियमापकीय कारबाही गरेको हो । यी बैंकहरुमाथि पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा कारबाहीको डण्डा चलाइएको हो ।

संस्थाहरुबाट प्रवाह भएका कर्जाको दुरुपयोग, सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन गरेको भन्दै केन्द्रीय बैंकले हालैमात्र सात वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको छ ।

वित्तीय संकट लघुवित्तदेखि विकास बैंकसम्म

केही समयअघिसम्म सडकदेखि सदनसम्म लघुवित्तको चर्चा थियो । ग्रामिण भेगमा सञ्चालित लघुवित्तहरुले चर्को ब्याज लिएको भन्दैं लघुवित्त पीडितहरुले देशभर आन्दोल गरे । ‘ऋण तिर्दैनौं/तिर्न हुँदैन’ भन्ने अभियान समेत चल्यो । 

तथापि, राष्ट्र बैंकको केही नियामकीय व्यवस्था, लघुवित्त र ऋणीहरुको बीचमा केही सहज व्यवस्था गरिदिए पछि हाल यो मुद्दा सेलाएको छ । तर, पछिल्लो समय यो समस्या लघुवित्त हुँदै सहकारी र विकास बैंकहरुमा सर्दैछ । जसको असर क वर्गका वाणिज्य बैंकहरुमा समेत पर्ने प्रायः निश्चित छ ।

आज वाणिज्य बैंकहरुकै खराब कर्जाको दर ५ प्रतिशतमाथि पुगिसकेको स्थिति छ । एकातिर खराब कर्जाको ग्राफ बढ्दो छ भने अर्को तर्फ कर्जाको मागनै नहुँदा बैंकिङहरु समस्यामा छन् । यता बढ्दो खराब कर्जाको चापले केही विकास बैंकहरु त बन्द हुने अवस्थामानै पुगिसकेको भित्री तथ्य विस्तारै उजागर हुँदैछ ।

वित्तीय संस्थाप्रति अफवाह फैलाइयोः गर्भनर अधिकारी

तथापि, वित्तीय क्षेत्रको झन्झन् विग्रदो स्थितिका बाबजुद नियामक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने वित्तीय संस्थाप्रति गलत अफवाह फैलाइएको तर्क गर्छन् । केही दिनअघि राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्वसमा बोल्दै गभर्नर अधिकारीले यस्तो अभिव्यक्ति दिए ।

उनले भने, ‘अहिले कतिपयले सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा छन् भनेर हल्ल फैलाइरहेका छन् । अफवाह फैलाउने, चाहिने नचाहिने कुराहरू सामाजिक सञ्जालमा राख्ने गरेका छन् । मिडियामा छोटो कुरा आउने तर वास्तविकता नल्याएर मानिसहरूमा भ्रम छरिदिने काम भइरहेको पाइएको छ ।’

कुनै पनि वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले घाटामा पर्न नदिने आश्वासन दिँदै उनले भने, ‘सबै वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकल नजिकबाटे नियालिरहेको छ । बैंकहरुको खराब कर्जा त्यति धेरै पनि छैन । कुनै पनि निक्षेपकर्तालाई घाटामा पर्न, डुब्न दिनेवाला छैनौँ । अप्ठ्यारो परेको संस्थालाई के गर्ने भन्नेबारे हामीले गछौं ।’

बैंक तथा वित्तीय संस्थाहरूको गतिविधिमा उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाई थियो ।

‘कुनै संस्था समस्यामा भयो भने त्यसको डेटा राष्ट्र बैंकसँग हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो । राष्ट्र बैंकले नियमन गरेको संस्थाका बचतकर्ताहरूलाई कुनै पनि हालतमा समस्यामा पर्न दिदैनौं । त्यो हाम्रो प्रत्याभूति नै हो । बाहिर हल्लाका पछाडि कोही लाग्न हुँदैन’ गभर्नर अधिकारीले भने ।

कर्णाली डेभलपमेण्ट बैंकको ‘टेकओभर’

नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो । राष्ट्र बैंकको सञ्चालक समितिले राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरी अर्को व्यवस्था नभएसम्मका व्यवस्थापकीय जिम्मा लियो । 

बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ ।

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ । उक्त समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समालेको छ । यस्तै बैंकको ‘डियु डेलिजेन्स’ सम्पन्न गराउन आवश्यक कार्य गर्नुका साथै वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी प्रकृयामा ल्याउने बताइएको छ ।

कर्णाली डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोके बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन । बैंकको निष्कृय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेका थियो ।

पूर्व बैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताए । एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

‘कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिँदा राष्ट्र बैंकले नियन्त्रणमा लिनु पर्यो । त्यो बेलासम्म अडिटर, रेगुलेटर कहाँ थियो ?’, भट्टराईले भने, ‘बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिन भएको होइन । हरेक वर्ष हुँदै आएको हो । यो व्यवस्थापन देखि रेगुलेन्टरसम्मको कमजोरीले यस्तो भएको हो ।’

यसका साथै उनले बैकिङ प्रणालीमा खराब कर्जा बढ्दै जाने र क्यापिटल टाइट हुँदै जाने समस्या रहेको बताए । उनले भने, ‘तरलता थुप्रिएर बसेको छ । तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था छ । भएको अहिले हामी क्रेडिट क्रन्चमा छौँ । यदि बैंकहरुमा तरलता अभाव भएको भए आज सार्वजनिक भएको बैंकको नाफा ४.९ भन्दा माथि हुने थिएन ।’

छ महिनामा नाफा साढे दुई अर्ब 

सञ्चालित १५ विकास बैंकहरुले पुस मसान्तसम्म साढे दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले यस अवधिमा २ अर्ब ६४ करोड ३७ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यस अवधिमा आइपुग्दा नारायणी डेभलपमेन्ट बैंक ५२ लाख १३ हजार रुपैयाँ घाटामा रहेको छ भने एक्सेल डेभलपमेन्ट बैंकको नाफा ९ करोड ५ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । राष्ट्रिय स्तरका विकास बैंक बाहेक अन्य बैंकहरुको नाफा घटेको छ ।

अधिकांश बैंकको वितरणयोग्य मुनाफा ‘ऋणात्मक’

प्रकाशित चालु आवको दोस्रो त्रैमाससम्मको तथ्यांक अनुसार सात विकास बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । पुस मसान्तसम्म ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको सप्तकोशी डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

त्यस्तै अन्य बैंकहरुमा एक्सेल डेभलपेन्टको वितरणयोग्य मुनाफा ८ करोड ७७ लाख रुपैयाँ ऋणात्मक छ । सिन्धु विकास बैंकको ३१ करोड ८९ लाख, नारायणी डेभलपमेन्टको ५२ लाख, ज्योति विकास बैंकको ४४ करोड १० लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा एक करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खराब कर्जा झण्डै ४४ प्रतिशत

पुस मसान्तसम्म विकास बैंकको खराब कर्जा (एनपीएल) झण्डै ४४ प्रतिशत पुगेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकको एनपीएल ४३.३९ प्रतिशत पुगेको हो ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा, ११.४२ प्रतिशत, सिन्धु किवास बैंकको ९.०६ प्रतितश, एक्सेल डेभलपमेन्टको ८.५६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५३ प्रतिशत रहेको छ । अन्य बैंकहरुको खराब कर्जा भने झण्डै ५ प्रतिशतको हाराहारीमा रहेको छ ।

सात बैंकका शेयरधनीको हात खाली

वित्तीय विवरण खस्किदा बैंकहरुको लाभांश समेत खुम्चिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष आठ बैंकहरुले मात्र शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । अन्य बैंकहरुले भने शेयरधनीहरुलाई निराश बनाएका छन् ।

गत आवको मुनाफाबाट सबैभन्दा बढी लाभांश दिने बैंकमा कामना सेवा विकास बैंक रहेको छ । बैंकले बोनस र नगद गरी १२ प्रतिशत लाभांश दिएको हो । त्यस्तै शाइन रेसुंगाले ८ प्रतिशत, सांग्रिलाले ३.८४ प्रतिशत, महालक्ष्मीले ७ प्रतिशत, लुम्बिनी विकास बैंकले ७ प्रतिशत, ग्रीन डेभलपमेन्टले ६.०५२७ प्रतिशत र गरिमा विकास बैंकले ५ प्रतिशत लाभांश दिएको हो । 

लाभांश नदिने बैंकहरुमा सप्तकोशी डेभलपमेन्ट, एक्सेल डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

कमजोर कम्पनीमा लगानीकर्ताको बलियो दबदबा

सिन्धु विकास बैंकको शेयरमूल्यमा मंगलबार उच्च वृद्धि देखियो । चालु आवको पुस मसान्तसम्म्म आइपुग्दा ९.०६ प्रतिशत खराब कर्जा पुगेको बैंकको शेयरमूल्य सो दिन ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २४६ दशलमव ८० रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बैंकको एक लाख ४१ हजार २३१ कित्ता शेयर १५ करोड ९७ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । वित्तीय अवस्था बिग्रिएकै कारण बैंकले आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासमा सुधारात्मक कारबाही भोगेको थियो ।

सार्वजनिक लेखा समितिले ९० रुपैयाँ भन्दा कम प्रतिशेयर नेटवर्थ भएका कम्पनीलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन मा समेत रोक लगाएको बेला ७३.६१ रुपैयाँ नेटवर्थ रहेको बैंकको शेयरमूल्य उच्चदरमा बढेको छ ।

सो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पनि ९.७३ प्रतिशतको वृद्धि देखियो । कम्पनीको शेयरमूल्य (प्रतिकित्तामा २२०) रुपैयाँले बढेर २ हजार ४८० रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको खराब कर्जा ७.५३ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात ४ दशलमव ९ रुपैयाँ रहेको छ ।

केही समयअघि वित्तीय अवस्था दयनिय रहेको कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा लगातार सर्किट लागेको थियो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि सेबोनको निर्देशन अनुसार नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको थियो । 

पुँजी बजार विश्लेषक छोटेलाल रौनियारले वित्तीय अवस्था खस्किएका कम्पनीहरुको शेयरमूल्य अवस्वभाविक रुपमा बढ्दा नियामक मौन बसेको बताए । उनले भने, ‘सिमित व्यक्तिहरुको हल्लामा कमजोर कम्पनीको शेयरमूल्यमा अस्वभाविक वृद्धि देखिएको छ । सेबोन र राष्ट्र बैंकले पनि उचित तरिकाले नियमन गर्न सकेको छैन ।’ 

Sponsored Advertisment