काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हाल ६ सय ५० बढी सदस्य संस्थाहरुको नियमित गैरस्थलगत जोखिम सुपरिवेक्षण गर्दै आएको छ । संघले सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत यो काम गर्दै आएको हो ।
यस कामका लागि १९ जना कर्मचारी नियमित खटिएका छन् । भौतिक सुपरिवेक्षणको लागत, समय र कठिनाइसँगै प्रविधिको उच्चतम प्रयोग र सहजतालाई समेत ध्यानमा राखी नेफ्स्कूनले पछिल्लो केही महिनादेखि गैरस्थलगत जोखिम सुपरिवेक्षण (अफसाइट रिस्क सुपरभिजन) लाई प्रभावकारी ढंगले अघि बढाएको छ । यसबाट संघ र सदस्य संस्थाहरु दुबै लाभान्वित बनेको नेफ्स्कूनले जनाएको छ।
नेफ्स्कूनले ३४औं स्थापना दिवस (२०७८ साउन ३२ गते) को अवसर पारेर एमआईएस पोर्टलको औपचारिक शुभारम्भ गरेको थियो ।
स्थलगत सुपरिवेक्षणमा आउने समस्याहरुसँगै समयको माग अनुसार प्रविधिमा आधारित विश्वासिलो, सहज, वैज्ञानिक र मितव्ययी सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता बोधसँगै नेफ्स्कूनले २०८० फागुन १३ गतेबाट गैरस्थलगत जोखिम सुपरिवेक्षण थालनी गरेको संघका बरिष्ठ उपाध्यक्ष एवम् सदस्य सेवा उप समिति संयोजक दामोदर अधिकारीले वित्तीय पोष्टलाई जानकारी गराए । सदस्यहरुको कार्यसम्पादन मापन, गुणस्तर सुनिश्चतता र जोखिम विश्लेषण गर्न सकिने गरि सदस्य सूचना प्रणाली (एमआईएस) विकास गरी कार्यान्वयनमा ल्याइएको अधिकारीले बताए।
संघका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठका अनुसार यस प्रणालीमा नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम एक्सेस, प्रोबेसन र जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) मा आवद्ध ६ सय ५० बढी संस्थाहरुको नियमित मासिक वित्तीय विवरणहरु पठाउने गरेका छन् ।
‘संस्थाहरुले विशेषगरी सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स), सदस्य संख्या र भाखा म्यादको आधारमा ऋणको वर्गीकरणका सूचनाहरु प्रविष्टि गरीसकेपछि एमआईएस सिष्टमले वासलात, आय विवरण, पल्र्स प्रतिवेदन तयार गर्दछ’, सहायक कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘त्यसैगरी प्रणालीले माग गरेको सुशासनका सूचकहरु पनि संस्थाहरुले अद्यावधिक गरेपश्चात् यसले व्यवस्थापन प्रतिवेदन तयार गर्दछ ।’
उनले नेफ्स्कूनको एमआईएसमा गुणस्तर मापनका लागि एक्सेस, प्रोबेसनको स्वमूल्याकंन सूचकहरु रहेका छन् भने जोखिम विश्लेषणका लागि जोखिम विश्लेषणका स्वः मूल्याकंनका सूचकहरु पनि राखिएका छन् । साथै यस एमआईएस प्रणालीमा जोखिम भारित सम्पति र पूँजी पर्याप्तता मापनको गणना गर्न सकिने दाबी गरे ।
संघले सदस्य संस्थाहरुले पठाएका विवरणको शुद्धता जाँच गरी संघका कर्मचारीहरुले त्यसलाई अनुमोदन गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यक्रमका फोकल पर्सन संघका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेका अनुसार संस्थाहरुले पठाएको मासिक वित्तीय प्रतिवेदनको आधारमा उनीहरुको वित्तीय जोखिम स्तर मापन गरिन्छ । जसअनुसार एमआईएस सिष्टमले उच्च जोखिम भए रातो, मध्यम जोखिम भए पहेँलो र न्यून जोखिम भए हरियो संकेतसहितको पर्ल्स प्रतिवेदन तयार पार्दछ ।
वित्तीय जोखिम मात्र नभई एमआईएसले विविध सूचकहरु आधारमा सञ्चालन जोखिमको अवस्था पनि छर्लङ्ग पार्ने दाबी वाग्लेले गरे । ‘एमआईएसमा संस्थाहरुले सञ्चालक समितिको वैयक्तिक विवरण, कर्मचारीहरुको बैयक्तिक विवरणहरु प्रविष्टि गर्नसक्ने र यसबाट अभियानमा को कहिले कुन पदमा कति पटक रहेको लगायतका विवरणहरु उपलब्ध हुन्छ,’ उनले भने, ‘त्यस्तै, कर्मचारीहरुको वैयक्तिक विवरणबाट बचत तथा ऋण सहकारीमा मानव संसाधनको योग्यता दक्षताको अवस्था समेत थाहा हुन्छ ।’
संघका सहायक कार्यकारी अधिकृत श्रेष्ठले एमआईएसमार्फत गैरस्थलगत जोखिम सुपरिवेक्षण कार्यमा २ वरिष्ठ अधिकृत, १० अधिकृत र ७ सहायक कर्मचारी खटिएको जानकारी गराए । ‘हामीले १९ जनाको मानव संशाधनलाई ७ वटा युनिटमा विभाजन गरी एमआईएसमा मासिक प्रतिवेदनहरु भर्न लगाउँछौं’, उनले थपे, ‘सोको आधारमा संस्थागत जोखिम विश्लेषण गरी सदस्य संस्थाहरुलाई एमआईएसबाटै प्रतिवेदन उपलब्ध गराउने र आवश्यक परामर्श उपलब्ध गराइरहेका छौं ।’
संघले स्थलगत सुझाव दिएको ९० दिनभित्रमा सुधार भए नभएको फलो अप गर्ने र सो को गैह्रस्थलगत प्रतिवेदन दिने, संस्थाले समयमै करचुक्ता लिए नलिएको, साधारण सभा समयमै गरे नगरेको जाँच गर्ने र तथ्याकं अद्यावधिक गर्ने गरिएको फोकल पर्सन वाग्लेले बताए । साथै, स्थलगत र गैह्रस्थलगत परिक्षणमा उच्च जोखिमका सूचकहरु देखिएमा सो अनुसार संघले संस्थाहरुलाई पत्राचार समेत गर्ने गरेको र आवश्यकता अनुसार परामर्श एवम् सहजीकरण समेत गरेको उनले जानकारी गराए ।
सदस्य सूचना प्रणालीको उपयोगिता एवम् फाइदा सबैभन्दा स्वयं संस्थाले नै अनुभूति गरेको विश्वास संघको छ । वाग्लेले भन्छन् ‘नियमित सूचना दिनु सदस्य संघ संस्थाको दायित्व पनि हो । सदस्य सूचना प्रणालीले संस्थालाई संस्थाको अवस्थाको विश्लेषण गर्न, कार्यसम्पादनको स्तर मापन गर्न, संघसँग सञ्चार गर्न, प्रतिवेदनलाई भविष्यको लागि सुरक्षित राख्न एवम् चाहेको समयमा सजिलै प्राप्त गर्न, संघबाट गैह्रस्थलगत सुपरिवेक्षण सेवा प्राप्त गर्न सहज र सरल बनाएको छ । यसको अनुभूति उनीहरुले गरेका छन् ।’
संघका बरिष्ठ उपाध्यक्ष अधिकारी तर्क गर्छन् ‘सदस्य संघ संस्थाले यसरी एमआईएसमार्फत सूचना प्रवाह गर्दा संघले समग्र अभियानको सक्षमता र तुरुन्तै सुधार गर्नुपर्ने विषयहरुको एकीकृत सूचना प्राप्त गर्छ’, उनी भन्छन्, ‘यसले सदस्य संघ संस्थाहरुलाई सुपरिवेक्षण मार्गदर्शन गर्न सहजता मात्र होइन हामी अभियन्ताहरुलाई बहस पैरवी गर्न, सञ्जालको शक्ति र सामथ्र्य सरोकारवालाहरुलाई जानकारी गराउन पनि निक्कै सहज हुन्छ ।’
Advertisment