काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने ‘स्थिरीकरण कोष सबल’ बन्दै गएको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवच पनि हो ।
बचत तथा ऋण सहकारीहरुको कारोबारमा बिद्यमान जोखिम व्यवस्थापन गरी संस्थागत सुरक्षामार्फत सदस्यहरुको बचत सुरक्षित ‘स्थिरीकरण कोष’ले गर्दछ ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कोषमा ३१६ सहकारीले प्रारम्भिक र वार्षिक योगदान स्वरुप २२ करोड १७ लाख ५१ हजार ४ सय ८५ रुपैयाँ ७७ पैसा जम्मा गरेका छन् ।
कोषको कुल सम्पत्ती २४ करोड ९४ लाख २० हजार ९२ रुपैयाँ पुगेको छ । कोषले २०८१ असार मसान्तसम्ममा बैंक ब्याज आम्दानी र वित्तीय लगानीबाट १ करोड ९० लाख ६९ हजार २ सय ७९ रुपैयाँ आम्दानी गरेको छ ।
कोषमा ३ हजार २ सय २५ रुपैयाँदेखि १ करोड ९ लाख ९ हजार ६ सय ११ रुपैयाँसम्म योगदान गर्ने प्रारम्भिक सहकारी छन् । कोषमा नेफ्स्कूनको योगदान २ करोड ९८ लाख २५ हजार १ सय ४३ रुपैयाँ छ ।
सहकारी ऐन, २०७४ को दफा १०३, सहकारी नियमावली, २०७४ को दफा ७४ र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि, २०७६ बमोजिम २०७९ जेष्ठ २७ गते खडा भएको थियो ।
आन्तरीक तथा वाह्य जोखिमहरुका कारण दिनानु दिन देखिएको समस्याहरुको असर योगदान गर्ने संस्थाहरुमा पर्न नदिई छवीको सुरक्षा तथा वासलातमा टाट पल्टनबाट बचाउन निरन्तर जोखिम सुपरिवेक्षण गरी देखिएका जोखिमहरुको समयमा नै व्यवस्थापन गर्न स्थिरीकरण कोष सञ्चालनमा आएको हो ।
४ संस्थाले पाए सहभागिताको प्रमाणपत्र
कोषमा योगदान गरेका ३१६ संस्था मध्ये ४ वटा संस्थाले मात्रै सहभागिताको प्रमाणपत्र पाएका छन् । सहभागिताको प्रमाणपत्र पाउने संस्थामा जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देही, लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवन, ग्रामिण बचत तथा ऋण सहकारी संस्था सल्यान र ठेचो महिला बचत तथा ऋण सहकारी संस्था ललितपुर रहेका छन् ।
सहभागिता प्रमाणपत्र पाएका संस्थाहरुले मात्रै बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि, २०७६ ले तोकेको सुविधा प्राप्त गर्छन । यी संस्थाले कोषबाट तरलता सापटी, दायित्व भुक्तानी सापटी, पुर्नसञ्चालन खर्च सापट पाउने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले जानकारी दिए।
कोषले सहभागिताको प्रमाणपत्र दिन सुरु गरेको र योग्यता पुगेका अन्य संस्थाहरुले पनि सहभागिताको प्रमाणपत्र पाउने ढकालले बताए ।
कोषमा प्रारम्भिक योगदान गरेका सम्पूर्ण संस्थाहरुले सहभागिताको प्रमाणपत्र भने पाउँदैन । सहभागिताको प्रमाणपत्र पाउनको लागि कम्तीमा पाँच आर्थिक वर्ष कार्यसञ्चालन गरी वार्षिक लेखापरीक्षण सम्पन्न गराएको, तोकिएको समयभित्रै अघिल्ला दुई वर्षको वार्षिक साधारण सभाका बैठक सम्पन्न गरेको, कर्जा वर्गिकरण गरी आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेको, कुल सम्पतिको न्यूनतम पाँच प्रतिशत संस्थागत पुँजी रहेको, अघिल्ला दुई आर्थिक वर्षहरूमा घाटामा नगएको तथा सञ्चित घाटा नभएको, स्वीकृत एकीकृत मानदण्डअनुसार उच्च जोखिममा नरहेको, निवेदन दिँदाका बखत नियामक निकायको निगरानी सूचीमा नपरेको वा शीघ्र सुधार कारवाहीमा सूचीकृत नभएको र सहकारी विभागले स्वीकृत गरेको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएको हुनुपर्ने व्यवस्था छ ।
कोष सञ्चालन समितिले दुई दशमलव पाँच प्रतिशत भन्दामाथि संस्थागत पूँजी भएका संस्थालाई समेत तीन वर्षभित्र पाँच प्रतिशत संस्थागत पूँजी पुर्याउने शर्तमा सदस्यता दिन सक्ने व्यवस्था कार्यविधिमा छ ।
कति पाउँछ तरलता सापटी?
कोषमा सहभागी संस्थाको तरलता कायम राख्न कोषबाट योगदानको दश गुना, कोषको जम्मा स्रोतको दश प्रतिशत, कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको बीस प्रतिशत र निर्धारित सापटी आवश्यकताको एकसय प्रतिशत जुन घटि हुन्छ सोसम्म सापटी दिन सकिने व्यवस्था छ ।
कति पाउँछ दायित्व भुक्तानी सापटी?
सहकारी ऐनको दफा १०३ को उपदफा (७) को देहाय खण्ड (ग) बमोजिमको अवस्थामा महासंघले ऐनको दफा ११४ को देहाय खण्ड (घ) बमोजिम व्यवस्थापन समितिबाट समस्याग्रस्त सहभागी संस्थाको सञ्चालनको जिम्मेवारी लिएमा महासंघलाई कोषबाट त्यस्तो सहभागी संस्थाको दायित्व भुक्तानी गरी पुनः सञ्चालनमा ल्याउने प्रयोजनका लागि सहभागी संस्थाको योगदानको बीस गुना, कोषको जम्मा स्रोतको बीस प्रतिशत, कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको चालिस प्रतिशत र निर्धारित सापटी आवश्यकताको एकसय प्रतिशत जुन घटि हुन्छ सोसम्म सापटी दिन सकिने व्यवस्था छ ।
कति पाउँछ पुर्नसञ्चालन सापटी?
संस्थाको योगदानको दुई गुणा, कोषको जम्मा स्रोतको दुई प्रतिशत, कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको चार प्रतिशत र निर्धारित सापटी आवश्यकताको असी प्रतिशत जुन घटि हुन्छ सोसम्म सापटी दिन सकिने व्यवस्था छ ।
धेरै योगदान गर्ने १० प्रारम्भिक सहकारी
कोषमा सबैभन्दा धेरै योगदान गर्ने संस्थामा सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रे रहेको छ । सामुदायिक साकोसले हालसम्म १ करोड ९ लाख ९ हजार ६ सय ११ रुपैयाँसम्म योगदान गरेको छ ।
त्यसैगरी धेरै योगदान गर्ने दोस्रो सहकारीमा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था काभ्रे रहेको छ । बिन्धवासिनी साकोसले १ करोड ७ लाख ७१ हजार ६८५ योगदान गरेको छ ।
त्यसैगरी रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १ करोड ७ लाख ४९ हजार ६ सय ९२ रुपैयाँ योगदान गरेको छ ।
त्यसैगरी ललितपुरको हाम्रो साकोसले ४४ लाख १० हजार ४६३ रुपैयाँ, ललितपुरको कल्याणकारी साकोसले ४३ लाख ४४ हजार ६५ रुपैयाँ, दोलखाको जनसचेतन साकोसले ३८ लाख ९० हजार ९८१ रुपैयाँ, काभ्रेको चण्डेश्वरी साकोसले ३५ लाख ७३ हजार २७३ रुपैयाँ, नवलपुरको लुम्बिनी सुनवल साकोसले ३३ लाख २१ हजार ५८९ रुपैयाँ, कोलिया देवदह साकोसले ३२ लाख ११ हजार ४२ रुपैयाँ र बागलुङको सिवाईसी साकोसले २८ लाख १२ हजार ५०३ रुपैयाँ योगदान गरेको छ।
कोषमा किन आवद्ध हुने?
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु सबैभन्दा बढी संवेदनशील मानिन्छन् । वित्तीय कारोबार आफैमा बढी तरल र जोखिमपूर्ण छ ।
वित्तीय दुर्घटनाका सम्भावनाहरु सधै सन्निकट रहन्छन् । यस्तो अवस्थामा कोषको भूमिका केवल वित्तीय समस्या समाधानमा मात्र नभई निरन्तर अनुगमन, प्रशिक्षण, सल्लाह र सहजिकरणको माध्यमबाट संकटको रोकथाममा समेत प्रभावकारी हुन्छ ।
यसरी हेर्दा ऐनले निर्दिष्ट गरेको स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानको निदानात्मक मात्र नभई प्रतिरोधात्मक अस्त्र पनि हो । अभियानको स्वामित्व र योगदानमा आधारित जगेडा कोष सहकारीको विश्वव्यापी मान्यता र सिद्धान्तसँग पनि निकट छ ।
कोषमार्फत संस्थाहरुको व्यवस्थापकीय समस्याको समयमा तरलता सापटी, पुनसञ्चालन खर्च सापटी तथा दायित्व भुक्तानी सापटी प्राप्त गर्न सकिने व्यवस्था छ । योगदान गरेको रकमको दश गुणासम्म तरलता सापटी पाइन्छ ।
Advertisment