काठमाडौं : केही समय अघिसम्म खराब कर्जाको सिकार बनेका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।
लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र व्यवहार गर्ने लगायतका कारणहरुले पनि कर्जा असुलीमा समस्या आएको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको तथ्यांक हेर्दा लघुवित्तको नाफामा झण्डै शतप्रतिशतको वृद्धि देखिएको छ ।
यस अवधिमा लघुवित्तहरुले ३ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ९७.१८ प्रतिशतले बढी हो । गत वर्षको छ महिनामा संस्थाहरुको नाफा एक अर्ब ८८ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
प्रकाशित वित्तीय रिर्पोट अनुसार यस अवधिमा आइपुग्दा २७ कम्पनीको नाफा बढेको छ । साथै सात कम्पनीको नाफा घटेको छ भने अन्य कम्पनीहरु घाटामा छन् । गत वर्ष नोक्सानीमा रहेका कतिपय कम्पनीहरुले पनि नोक्सानी घटाएका छन्
पुस मसान्तसम्म आइपुग्दा अधिकांश लघुवित्तहरुको नाफा शतप्रतिशतले बढेको छ । सबैभन्दा बढी नाफा बढाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ३ हजार ४९२ प्रतिशतले बढेको हो ।
गत वर्षको सोही अवधिमा ५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको स.स्थाले चालु आवको सोही अवधिमा आइपुग्दा २ करोड तीन लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानी पनि ८८.०८ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो । यसका साथै अधिकांश कम्पनीहरुको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरी अहिले लघुवित्त प्रति आम नागरिकको बुझाई फेरिएको बताउँछन् ।
उनी भन्छन्, ‘लघुवित्तको वित्तीय अवस्थामा सुधार आएको छ । हामीले पनि मेहनत गरेका छौं । अहिले ऋण नतिर्ने र कर्मचारीहरुमाथि आक्रमण गर्ने वातावरण छैन । विभिन्न मोटिभेसनल तालिमहरु दिएर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका छौं । आम नागरिकको सोचाईमा परिवर्तन आएको छ । धेरैले ऋण तिरिरहनु भएको छ ।’
यसका साथै उनले खराब कर्जा घटेका कारण पनि संस्थाको पोर्टपोलियोमा सुधार आएको बताए । उनले अगाडी भने, ‘धेरै माइक्रो फाइनान्स नपुगेको ठाउँमा पनि हामी पुगेका छौं । नयाँ रणनीतिका साथ कार्यक्रम र योजनाहरु अघि बढाए छौं । यसले पनि संस्थाको वित्तीय अवस्थामा ग्रोथ आएको छ ।’
‘कर्जा रिकभरीमा राष्ट्र बैंकको साथ’
नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै लघुवित्त संस्थाहरुलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गर्यो । उक्त सर्कुलरमार्फत लघुवित्तबाट लिएको ऋण र्तिन नसकेका ग्राहकलाई ऋण भुक्तान अवधि ३ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा दिएका कारण अहिले संस्थाको खराब कर्जा कम हुँदै गएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव बताउँछन् ।
उनले भने, ‘एनपील घट्नुको कारण राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा ल्याएर पनि हो । वास्तविक रूपमा समस्यामा परेको र परिस्थितिवश समस्यामा परेर ऋण तिर्न नसकेको असल वर्गमा नै रहेको ग्राहकलाई कर्जा पुनर्संरचनाका लागि एक वर्षको समय दियो ।’
ऋण असुलीमा राम्रो सुधार भएको बताउँदै उनले भने, ‘ऋणको पुनरसंरसचना गरेपछि एनपीएलमा जान पाएन । एनपीएलको लेभल नियन्त्रण हुने वित्तिकै प्रोभिजन गर्नुपर्ने रकम पनि कम भयो । असुली पनि राम्रो भएको छ । नगद रकम पनि धेरै उठेको छ । ग्राहकको मनस्थिति पनि बदलिएको छ । हिजो सडकमा ऋण मिनाहा गर भन्दै हिँड्नेहरू पनि ऋण तिर्नुपर्छ भनेर आएका छन् । संस्थाहरूको नाफा पनि बढेको छ ।’
यसका साथै उनले बैंकहरुको घट्दो ब्याजदरले पनि वेशरेट कम हुँदा ऋणको कस्ट अफ पनि कम हुँदै गएको बताए ।
२६ प्रतिशतले बढ्यो ब्याज आम्दानी
पुस मसान्तसम्म आइपुग्दा संस्थाहरुको खुद ब्याज आम्दानी २६.८१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ११ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको संस्थाको यस्तो आम्दानी बढेर १४ अर्ब ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने नौं कम्पनीको ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घटेका संस्थाहरुमा साना किसान विकास, युनिक नेपाल, छिमेक, फरवार्ड माइक्रोफाइनान्स, समाज एनआईसी एशिया, आरएसडीसी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।
प्रकाशित विवरण अनुसार स्वस्तिक लघुवित्तको ब्याज आम्दानी सबैभन्दा बढी एक हजार ५९७ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन लघुवित्तको ७८७.२१ प्रतिशत, धौलागिरी लघुवित्तको २०६.८१ प्रतिशत, नेरुडे मिर्मिरेको १६१.१९ प्रतिशत र सम्पदा लघुवित्तको ब्याज आम्दानी १५५.३९ प्रतिशतले बढेको छ ।
३२ कम्पनीले घटाए खराब कर्जा
चालु आवको पुस मसान्तसम्म आइपुग्दा सूचीकृत ३२ कम्पनीहरुको खराब कर्जा घटेको छ । गत आवको सोही अवधिमा औषत ६.६० प्रतिशत रहेको संस्थाहरुको खराब कर्जा १.६६ प्रतिशतले घटेर औषत ६.४९ प्रतिशतमा झरेको छ ।
यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीहरुको कर्जा असुलीमा सुधार भएको देखिन्छ । गत आवको सोही अवधिमा १४.६५ प्रतिशत रहेको सामुदायिक लघुवित्तको खराब कर्जा घटेर ४.८९ प्रतिशतमा झरेको छ ।
त्यस्तै सबैभन्दा धेरै खराब कर्जा घटाउने अन्य संस्थामा महिला लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्रामिण विकास, अभियान, डिप्रोक्स, जनउत्थान सामुदायिक, निर्धन उत्थान र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
पुस मसान्तस्म्म आइपुग्दा १९ कम्पनीहरुको खराब कर्जा भने बढेको छ । जसमा नेष्डो समृद्ध लघुवित्त, मातृभूमि, युनिक नेपाल, इन्फिनिटी, स्वस्तिक, हिमालयन र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।
यस अवधिमा नेष्डो समृद्ध लघुवित्तको खराब कर्जा सबैभन्दा बढी १६.६१ प्रतिशत पुगेको छ । त्यस्तै युनिक नेपाल लघुवित्तको खराब कर्जा १६ प्रतिशत, आत्मनिर्भरको खराब कर्जा १५.०९ प्रतिशत पुगेको छ भने एनआईसी एशियाको १३.३७ प्रतिशत, इन्फिनिटी लघुवित्तको एनपीएल ९.८५ प्रतिशत पुगेको छ ।
Sponsored Advertisment
Advertisment