दैनिक जीवनयापन, जीवनमा आवश्यक पर्ने ठूला खर्चहरु र भैपरी आउने विपत्तिको समुचित व्यवस्थापन गर्न पैसाको आवश्यकता पर्दछ ।
यसरी दैनिक जीविकोपार्जनदेखि भैपरी आउने आकस्मिक सड्ढटसम्म सहज तरिकाले व्यवस्थापन गर्न आफ्नो वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थासमेतलाई विचार गरी निर्धारण गरिएको बचत तथा लगानीको लक्ष्य नै वित्तीय लक्ष्य हो । वित्तीय लक्ष्यलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन किसिमले वर्गीकरण गर्न सकिन्छ ।
१. अल्पकालीन लक्ष्य (एक वर्षभित्र हासिल गरिने लक्ष्य): जस्तै, कुनै व्यक्तिले एक वर्षभित्र रू. ५,०००।– को साइकल किन्ने लक्ष्य राख्यो भने त्यो अल्पकालीन वित्तीय लक्ष्य हो ।
२. मध्यमकालीन (एकदेखि पाँच वर्षभित्र हासिल गरिने लक्ष्य) : जस्तै, कुनै व्यक्तिले तीन वर्षभित्र १० लाखको लागतमा घडेरी किन्ने लक्ष्य राख्यो भने त्यो मध्यमकालीन वित्तीय लक्ष्य हो ।
३. दीर्घकालीन (पाँच वर्षपछिको समयमा हासिल गरिने लक्ष्य) : जस्तै, कुनै व्यक्तिले १० वर्षभित्र छोरीलाई डाक्टर पढाउन लाग्ने खर्चको लक्ष्य राख्यो भने त्यो दीर्घकालीन वित्तीय लक्ष्य हो ।
वित्तीय लक्ष्य निर्धारणका फाइदा
- वित्तीय लक्ष्य निर्धारणका क्रममा आम्दानी र खर्चको अनुमानित चित्र देखिने हुँदा बचतलाई प्राथमिकतामा राखी फजुल खर्च रोक्न सहयोग पुग्छ ।
- आम्दानीका स्रोतहरु बढाउन र मानिसलाई कर्मशील हुन प्रेरित गर्दछ ।
- विपद्को सामना गर्न सहयोग पुर्याउँछ ।
- भविष्यको आर्थिक अनिश्चिततालाई कम गर्दछ ।
- मानिसलाई स्वावलम्बी भएर बाँच्न सिकाउँछ ।
वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने ?
वित्तीय लक्ष्य निर्धारण गर्दा देहायबमोजिमको प्रक्रिया अनुसरण गर्न सकिन्छः
१. भविष्यका आवश्यकता पहिचान गरी प्राथमिकता तय गर्ने,
२. अनुमानित खर्च कति हुन्छ सोबमोजिम वार्षिक वा मासिक वा आम्दानीअनुसारको पारिवारिक बजेट निर्माण गर्ने,
३. लक्ष्य प्राप्तिको लागि बचतको योजना बनाउने,
४. योजनामा अडिग रहने, र
५. आवश्यक परेमा पुनरावलोकन गर्ने ।
Advertisment