काठमाडौं : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध छन् ।
केबलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेलेल कुनै पनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताए । सरकारको मात्रै लगानीले समृद्धि प्राप्त नहुने उनको भनाइ छ । निजी क्षेत्रले केबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताए ।
निजी क्षेत्रलाई लगानीमैत्री वातावरणका लागि कानुन निर्माण लगायतका काम सरकारले गर्नेपर्ने उनको भनाइ छ ।सरकारले हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको उनले बताए ।
‘निजी क्षेत्र अगाडि नबढीकन कुनै पनि देशको विकास भएको छैन । कुनै पनि देशलाई अगाडि बढाउने, विकसित गराउने र समृद्धिको बाटो पक्रिने हो भने सरकारको पैसाले मात्रै पुग्दैन । सरकारको पैसाले सम्पूर्ण कुरा हुनै सक्दैन । अझ पर्यटन क्षेत्रको कुरा गर्ने हो भने केबलकार स्थापना गर्नुपर्यो भने सरकारबाट सम्भव छैन’, उनले भने ।
मन्त्री पाण्डेले निजी क्षेत्रले व्यवसायबाट आर्जित रकमबाट इमान्दारितापूर्वक राज्यलाई कर तिर्नुपर्ने बताए ।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने बताए । नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइँ अवधि छोटिएको बताए ।
विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ । पर्यटकले गर्ने खर्च र बसाइँ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने उल्लेख गरे ।
नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताए ।
Advertisment