भूमिका तथा परिचय
सहकारी भन्नासाथ नाक खुम्च्याउने चलन दिन पर दिन बढ्दै गएको छ । यसको मुख्य कारण सहकारीमा रकमको अपचलन भई सदस्यहरुको बचत फिर्ता हुन नसक्नाले हो । के सबै सहकारी बदमास नै हुन् त ? यो पनि होइन । के चाँही सत्य हो भने सहकारीले सदस्यसँग बचत उठाउन पाउने प्रावधानलाई केहि सिमित व्यक्तिहरुले ठुलो रकम दुरुपयोग गरि सदस्यहरुसँग उठाएका बचतहरु आफ्ना स्वार्थ पूर्तिमा गलत तरिकाले प्रयोग गर्नाले बचत फिर्ता गर्न नसक्ने स्थिति सृजना हुन गएको हो ।
वित्तीय कारोवार गर्ने संस्थाले सुशासन तथा वित्तीय अनुशासनको पालना अनिवार्य गरेको हुनु पर्दछ । यसको लागि प्रभावकारी आन्तरिक तथा बाह्य अनुगमन तथा परीक्षण, नीति र विधि अनुसार मात्र कारोवार गर्ने, सहकारीको मुलभुत सिद्धान्त, मूल्य तथा मान्यताको पालना गर्न जरुरी छ । वित्तीय सहकारीमा हुने जोखिमहरु समयमै पहिचान गरि जोखिम न्यून हुने कार्यहरु गर्न अपरिहार्य देखिएको छ ।
सहकारी अभियानको महत्व र जोखिमको स्तर
नेपालमा रहेका कुल ३१,३७३ सहकारीमा ७३,८१,२१८ सदस्य आवद्ध भएको देखिन्छ । सहकारीमा कुल ९४ अर्ब १५ करोड शेयर तथा ४ खर्ब ७८ अर्ब ३ करोड बचत संकलन भएको पाइन्छ भने यी सहकारीहरुकोे कुल ४ खर्ब २६ अर्ब ३५ करोड ऋण लगानीमा रहेको देखिन्छ । सहकारीमा ९३,७७१ जनाले प्रत्यक्ष रोजगार पाईरहेका छन भने लाखौंले सहकारीको सहयोगले अप्रत्यक्ष रोजगार सृजना गरेका छन् ।
कुल सहकारी मध्ये करीब ५० प्रतिशत बचत तथा ऋण सहकारी रहेका छन् र अधिकांश बहुउद्येश्यीय सहकारीहरुको मुख्य कारोबार पनि बचत तथा ऋण नै देखिन्छ । यस तथाङ्कले सहकारी अभियानको भुमिका देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण रहेको देखिन्छ । (सहकारी क्षेत्र सुझाव कार्यदल, २०८०)
एकातिर आम जनताको सर्वाङ्ख विकासमा सहकारीको भुमिका उल्लेखनिय रहेको छ भने अर्कोतर्फ सहकारीमा संकट पनि विकराल रुपमा बढदै गएको छ । सदस्यहरुको बचत फिर्ता गर्न नसकेर बचतकर्ताहरुको उजुरीमा २३ वटा सहकारीहरुलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारीको रुपमा घोषणा गरेर सदस्यको बचत फिर्ता गर्न आवश्यक कार्यवाही गरिरहेको छ । बचत फिर्ता गर्न नसकेका सहकारीको संख्या करीब ५०० भन्दा बढी रहेको र करीब २ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा सहकारीमा बचत गर्नेे सदस्यहरुको बचत संकटमा रहेको अनुमान गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ५१ मा सार्वजनिक, निजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने राज्यको नीती रहने उल्लेख गरेता पनि सहकारी क्षेत्रमा देखिएको संकटले सहकारी क्षेत्रमा लाग्ने आम सदस्यहरुलाई मात्र नभई पुर्ण देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको छ ।
जोखिमहरुको पहिचान र न्यून कसरी गर्ने ?
वित्तीय सहकारीमा विभिन्न जोखिमहरु रहेका हुन्छन् । कुन कुन जोखिमहरु कहिले, कहिले र कुन, कुन अवस्थामा हुन्छ पहिचान गरि सो को न्यूनिकरण गर्ने कार्य समयमै गर्न जरुरी छ ।
१) सुशासन जोखिम
सुशासनको जोखिमलाई प्रमुख जोखिम मानिन्छ । सुशासन भन्नासाथ कारोवारको पुर्ण पारदर्शीता, विधि/कानुनकोे पालना, सदस्य र समुदायप्रतिको उत्तरदायित्व वहन गर्ने सञ्चालक समिति र कर्मचारी हुन आवश्यक छ । त्यस्तै ईमान्दार, नैतिकवान, वित्तीय कारोवार बुझने र समय दिन सक्ने सञ्चालक समितिमा हुनु पर्ने गुणहरु हुन जुन अधिकाशं नेपालको वित्तीय सहकारीमा अभाव देखिन्छ ।
सहकारी सदस्यलाई वार्षिक साधारण सभा, विभिन्न समिति तथा उपसमिति, क्षेत्रिय भेला र सदस्य शिक्षा कार्यक्रममार्फत संस्थाले तयार गर्ने सबै नीति नियम र कारोवारमा संलग्न गराउने कुरा प्रभावकारी नहुनाले सहकारीमा विकृती बढदै गएको छ ।
संस्थाको निर्णय प्रकृया वा कार्यान्वयनमा संलग्न सञ्चालक समिति, विभिन्न उपसमिति र संस्थाका कर्मचारीहरु आफुले गरेको कार्यको लागि पुर्ण उत्तरदायी नभएको अवस्था छ । संस्थाले व्यवसायीक योजना, नीति तथा विधि बनाएर आफनो श्रोत तथा साधनको सदस्यको हितमा केन्द्रीत गरेमा संस्थाको जोखिम न्यून हुन जान्छ ।
नेपालको वित्तीय सहकारीमा देखिएको अर्को समस्या भनेको सहकारीहरुले सहकारीको मुलभूत मुल्य, मान्यता र सिद्धान्तहरुलाई पालना नगर्ने, नीति र विधि बाहिर गएर कारोवार गर्ने र लामो अवधिसम्म एउटै सञ्चालक समिति तथा व्यवस्थापकहरु रहने र भ्रष्ट्राचार गर्नेलाई तुरुन्त सजाय गर्न नसक्नुले हो ।
सहकारीहरुमा सबै सदस्यहरुनै समान मालिक रहने र सदस्यहरुकै हितमा कार्य गर्ने स्वतन्त्र संस्था हो । सदस्यहरुको स्वामित्व मात्र नभई संस्थालाई प्रजातान्त्रिक र वित्तीय अनुशाशित ढंगले सञ्चालन गर्ने जिम्मेवारी पनि सदस्यहरुकै हो तर केही सिमित निहित स्वार्थ भएका समुहले सहकारीमा सुशासनको धज्जा उडाई सहकारीको रकम अपचलन गर्नाले नेपालमा सहकारी अभियाननै संकट उन्मुख हुन पुगेको अवस्था छ ।
२) ऋण लगानी जोखिम
क) ऋणीको पहिचान र विश्लेषण
ऋणीको आम्दानीको श्रोतहरु, ऋण फिर्ता गर्न सक्ने आधारहरु, प्रस्तावित योजनाको आर्थिक र प्रावधिक पक्षहरु, ऋणीले विभिन्न संस्था वा व्यक्तिसंग लिएका सापटी र सोको अवस्था र ऋणीलाई दिन सकिने अधिकतम ऋण सीमाको निर्धारण गरेर मात्र ऋण लगानी गरिएमा धेरै हदसम्म जोखिम न्यून गर्न सकिन्छ ।
ख) ऋणको सुरक्षण
बिना धितो वा कमजोर धितोमा सञ्चालक समिति र उनीहरुका आफन्तलाई ऋण दिने प्रचलनले सहकारीमा जोखिम बढन गएको छ । जोखिम कम गर्न समुह जमानतमा दिइने लघुवित्त ऋण बाहेक अन्य कुनै पनि ऋण अचल संपती धितो नराखि प्रवाह गर्न नहुने व्यवस्था गरिनु पर्दछ । ऋणको असुली मासिक किस्ता बन्दीमा नगर्नाले वित्तीय सहकारीमा जोखिम बढन गएको हो ।
ग) समिति र कर्मचारीहरुलाई ऋणमा बन्देज
नेपालमा सहकारीको रकम अपचलन गर्नेमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च कर्मचारीहरुनै देखिएको छ । संस्थामा राखेको बचत धितोमा प्रवाह हुने ऋण बाहेक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सबै कर्मचारीहरुलाई (कर्मचारीहरुको हकमा कर्मचारी नियमावली अनुसारको दिइने ऋण बाहेक) मा बन्देज गरिनु पर्दछ ।
घ) परियोजना अनुगमन
जोखिम कम गर्न संस्थाले प्रवाह गरेको ऋणको अनुगमन नियमित गर्ने व्यवस्था हुनु पर्दछ । तोकिएको उद्येश्यमा ऋणको प्रयोग नगर्नेको ऋण तुरुन्त असुली गर्नु पर्दछ । एकै शिर्षकमा धेरै ऋण प्रवाह हुदा जोखिम हुन सक्ने भएकोले कुनै एकै शिर्षकमा कुल ऋणको २५ प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न रोक लगाउनु पर्दछ ।
ङ) बीमाको व्यवस्था
ऋण प्रवाह हुनासाथ जोखिम सृजना हुने हुनाले संस्थाबाट प्रवाह हुने सबै ऋणको निश्चत सिमासम्म सुरक्षणको हुने गरि ऋणको बीमा गर्नु पर्दछ । घर वा अचल सम्पति धितो दिएमा सो को पनि बीमा गर्नु पर्दछ ।
३) श्रोतको जोखिम
क) बचत
अहिले नेपालमा सिमित व्यतिmसंग धेरै बचत उठाउने गरिएकोले बचत फिर्ता गर्न नसकेको हो । सहकारीले बचत संकलन गर्दा सबै सदस्यहरुबाट नियमित (मासिक) बचत संकलन गरि कुल बचतको अधिकतम हिस्सा नियमित बचत भएमा जोखिम कम हुन्छ । एकै जना सदस्यसंग धेरै बचत नलिई धेरै भन्दा धेरै सदस्यसंग बचत लिने गरिएमा बचतको जोखिम घटन गई बचत फिर्ता नहुने अवस्था रहदैन । यस्तै ऋण प्रवाह गर्दा स–साना ऋण धेरै भन्दा धेरै सदस्यलाई वितरण गरेमा बचतको जोखिम कम हुन्छ । बचतको रकमको प्रयोग ऋणमा गर्ने हुनाले भाखा ननाघने गरि मासिक किस्ता बन्दीमा असुल हुने गरि धितो राखेर ऋण प्रवाह गरेमा बचतको जोखिम हुदैन । त्यस्तै बचतको रकमलाई सदस्यलाई ऋण प्रवाह बाहेक जग्गा किन्न वा अन्य कारोवार गर्न नदिएमा सदस्यको बचत सुरक्षित हुने देखिन्छ । सदस्यको सिमित बचत रकम बीमा गरि बचतको जोखिम न्यून गर्न सकिन्छ ।
ख) शेयर पुँजी
सहकारीमा बैंक जस्तो सिमित व्यक्तिसंग धेरै शेयर लिनुको सट्टा सबै सदस्यहरुसंग बराबर शेयर लिने गरेमा शेयर लाभाशंमा चाप नपर्ने र कुनै सदस्यले संस्था छोडन चाहेमा संस्थालाई जोखिम न्यून पर्ने हुन्छ । संस्थाले यस अघि सिमित व्यक्तिसंग धेरै शेयर लिएको भए औसत शेयर भन्दा बढीको शेयर क्रमसः फिर्ता गर्ने व्यवस्था मिलाएमा जोखिम कम हुन्छ ।
ग) ऋणको गुणस्तरको विश्लेषण तथा वर्गिकरण
हरेक महिना ऋणको वर्गिकरण गर्ने र वर्गिकरण अनुसार तोकिएबमोजिम ऋण जोखिम कोषमा रकम छुट्टयाउनु पर्दछ । भाखा नाघेको ऋण अनुगमन तथा जोखिम व्यवस्थापनको लागि अलगै उपसमितिको व्यवस्था गरि हरेक सञ्चालक समितिको बैठकमा भाखा नाघेको ऋणको बारेमा छलफल गरि तत्काल भाखा नाघेको ऋण असुल गर्ने र थप ऋण भाखा नाघन नदिने व्यवस्था भएमा वित्तीय सहकारीमा जोखिम नियन्त्रण हुन्छ ।
घ) तरलताको व्यवस्थापन
मुख्य त ऋण लगानीमा भाखा नाघनाले नै सहकारीहरुमा तरलताको समस्या पर्न जान्छ । भाखा नाघेको रकम नियन्त्रणको लागि एक सदस्यलाई दिइने ऋणमा सिमा, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीमा ऋणमा बन्देज, मासिक किस्ता बन्दीमा असुली हुने गरि ऋण लगानी, सामुहिक जमानीमा दिइने बाहेक बिना धितो ऋण लगानी नगर्ने र प्रयाप्त जगेडा कोषको व्यवस्था गर्नु पर्दछ । बचत फिर्ता माग्न आउनेलाई तुरुन्त फिर्ता दिन संस्थामा नियमबमोजिम तोकिएको रकम नगद वा बैंकमा राख्ने व्यवस्था गरेमा संस्थामा जोखिम घटन गई संस्थामा सदस्य र समुदायको विश्वास बढ्न जान्छ ।
ङ) मानव संसाधनको विकास
सहकारीको बढदो बिकृतीले नव युवाहरुलाई सहकारीको जागिर प्राथमिकतामा पर्न सकेको छैन । त्यसमा सञ्चालक समितिको दैनिक कार्य संचालनमा हस्तक्षेपले सहकारीको मुल्य मान्यता र वित्तीय अनुशासनमा रहेर संस्था चलाउछु भन्नेहरु सहकारीको नोकरीमा आवद्ध भएपनि जागिर छोडने गरेको देखिन्छ । मानव संसाधन विकासमा महासंघ, संघहरु तथा सहकारी बैंकले बेलाबेलामा तालिमको व्यवस्था गरेपनि विश्व विद्यालयस्तरको स्तरको सहकारी सम्वन्धी पढाई हुन सकेको छैन । व्यवसायिक कर्मचारीको आकर्षणको कमि र अभाव पनि वित्तीय सहकारीको जोखिम बढने एक कारण हो ।
च) बाह्रय अनुगमनको व्यवस्था
सहकारीको मुल्य, मान्यता, सिद्धान्त, वित्तीय अनुशासन र सुशासनबाट सहकारीको संचालन हुनु पर्दछ भन्ने थाहा हुदाँ हुँदै पनि सो को पालना नगर्नाले सहकारीका अभियन्ताहरुबाटनै सहकारीमा विकृती बढाउने कार्य भइरहेको छ । स्वतन्त्रताको नाममा मनोमानी गर्न छुट कसैलाई दिन हुँदैन । सहकारीमा जोखिम कम गरि साख उच्च राख्न बाह्रय नियमन र अनुगमन कडा हुनु पर्दछ । नेपालको सहकारीमा बाह्र नियमन र अनुगमन बढाउने कार्य सहकारीलाई प्रभावकारी बनाउन आवश्यक भएकोले सहकारी महासंघ, संघहरु, सहकारी बैंक र सबै सहकारी कर्मिहरुले यसमा जोड दिन जरुरी देखिएको छ ।
४) निष्कर्ष
नेपालमा वित्तीय सहकारी जोखिमको प्रमुख कारण कमजोर नियमन र अनुगमन हो । सहकारीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई (कर्मचारीको हकमा कर्मचारी नियमावलीबाट पाउने ऋण बाहेक) बचत धितोमा दिइने ऋण बाहेक सबै प्रकारको ऋणमा बन्देज गर्नु पर्दछ । लघुवित्त मार्पmत सामुहिक जमानीमा प्रदान गर्ने ऋण बाहेक सबै ऋणमा अचल सम्पत्ति धितो अनिवार्य लिनु पर्दछ ।
एक सदस्यको ऋण र बचतको सीमा कुल प्राथमिक पुजिंको १० प्रतिशत हुने, संस्थामा धेरै भन्दा धेरै सदस्यलाई ऋण प्रवाह गर्ने, एकै शिर्षकमा धेरै ऋण प्रवाह नगर्ने, ऋण तोकेको उद्येश्यमा सदुपयोग गर्ने, सबै ऋण मासिक किस्ता बन्दीमा असुल हुने गरि लगानी गर्ने, ऋणको वर्गिकरण मासिक गरि जोखिम कोष छुट्टयाउने, शेयर सबै सदस्यसँग बराबर लिने, नियमित बचत बढी भन्दा बढी संकलन गर्ने, कारोवारको आधारमा संरक्षित पुँजी कोषमार्फत सदस्यहरुलाई लाभ बाढने, बढी भन्दा बढी संस्थागत पुँजी राख्ने र सदस्यलाई ऋण दिने बाहेक घर जग्गा वा अन्य कार्यमा बचतको रकम प्रयोग नगर्ने व्यवस्थाबाट नै वित्तीय सहकारीको जोखिम न्यून गरि सहकारीको कारोवारलाई प्रभावकारी बनाउन सकिन्छ ।
Advertisment