काठमाडौं : नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ ।
प्राधिकरणले मङ्गलबार (भाद्र १७ गते) जारी गरेको निर्देशनको अधिनमा रहेर बीमकले ‘लगानी नीति’ संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ ।
बीमकलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, बीमकको लगानी विविधीकरण हुने गरी विभिन्न क्षेत्रमा लगानी सक्ने व्यवस्था गर्ने, बीमकको तरलता तथा सम्पत्ति र दायित्वको अवधि मिल्ने गरी लगानी व्यवस्थापन गर्ने र बीमकको लगानी सम्बन्धी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निर्देशन जारी गरिएको हो ।
लगानी निर्देशिका अनुसार बीमकले प्राधिकरणको स्वीकृति लिई धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त कम्पनी, कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डार गृह, उर्जा उत्पादन, प्रसारण र विस्तार, शिक्षा र स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न सक्नेछन् ।
बीमकले उक्त क्षेत्रहरुमा कुल लगानीको बढीमा पाँच प्रतिशतसम्म सहायक कम्पनीमा लगानी गर्न सक्नेछन् । सहायक कम्पनीमा लगानी गर्न बीमकले प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी कायम भएको, न्युनतम जोखिममा आधारिक पुँजी तथा सोल्भेन्सी मार्जिन १३० प्रतिशत कायम भएको, बीमकहरु पछिल्ला तीन वर्षदेखि नाफामा रहेको तथा लगानी गर्नुपूर्व संचित नोक्सानीमा नरहेको र बीमकको नेटवर्थ धनात्मक रहेको हुनुपर्नेछ ।
यसका साथै बीमकको सञ्चालक समितिका अध्यक्ष वा सदस्य निजको एकाघरपरिवारका सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्नेछ ।
जीवन बीमा व्यवसाय तथा लघजुीवन बीमा व्यवसाय गने बीमकले आफ्नो प्रत्येक पोर्टफोलियोको जीवन बीमा कोष, उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, बीमकले प्रत्येक पोर्टफोलियो तथा शेयरधनीकोषबाट लगानी तथा खरिद भएका सम्पत्तिको लेखांकन अलग–अलग गर्नुपर्ने भएको छ । बीमकले आफ्नो कोषमा रहेको रकमहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जीवन बीमा कम्पनीहरुको लगानीका क्षेत्र र सीमा
निर्देशिका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ । यस अघि यसमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको थियो । प्राधिकरणले लगानी निर्देशिक संशोधन गरेर १० प्रतिशत बढाएको छ ।
साथै, प्राधिकरणले ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा बीमा कम्पनीहरुले गर्न पाउने लगानीको दायरा ३० प्रतिशत कायम गरेको छ । साथै, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
साथै उक्त निर्देशिकाले बीमा कम्पनीहरुलाई धितोपत्र बजारमा लगानी बढाउने बाटोे समेत खुला गरिदिएको छ । जारी लगानी निर्देशिका अनुसार सूचीकृत कम्पनीहरुको साधारण शेयरमा लगानीको दायरा ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ । यसअघि बीमा कम्पनीहरुले आफ्नो कुल लगानीयोग्य रकमको १० प्रतिशतमात्र सूचीकृत कम्पनीहरुमा लगानी गर्न पाउने व्यवस्था गरिएको थियो ।
संशोधित निर्देशिका अनुसार शेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न नपाइने बताएको छ ।
बीमा कम्पनीहरुले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घर जग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृत तथा शीत भण्डार गृह, पर्याटन उद्योग, जलविद्युत सौर्यउर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बीमा कम्पनीहरुले १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यद्यपी एउटै परियोजनामा भने ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।
नयाँ निर्देशिका अनुसार बीमकहरुले इन्भेष्टमेन्ट कम्पनीको शेयर, प्राइभेट इक्वीटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा ५ प्रतिशतसम लगानी गर्न पाउनेछन् । एउटै फण्डमा कुल लगानीको बढीमा एक प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था गरिएको छ ।
निर्जीवन बीमा कम्पनीहरुको लगानीका क्षेत्र र सीमा
निर्देशिका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ ।
साथै, प्राधिकरणले ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा बीमा कम्पनीहरुले गर्न पाउने लगानीको दायरा ३० प्रतिशत कायम गरेको छ । साथै, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
साथै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) बण्ड, डिबेञ्चर, र ऋणपत्रमा कम्पनीहरुले २० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । लगानी गरेको कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत भन्दा बढी हुने गरी लगानी गर्न पाइने छैन ।
उक्त निर्देशिकाले बीमा कम्पनीहरुलाई धितोपत्र बजारमा लगानी बढाउने बाटोे समेत खुला गरिदिएको छ । जारी लगानी निर्देशिका अनुसार सूचीकृत कम्पनीहरुको साधारण शेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । शेयरमा लगानी गरेको कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत भन्दा बढी हुने गरी लगानी गर्न पाइने छैन ।
बीमा कम्पनीहरुले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घर जग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृत तथा शीत भण्डार गृह, पर्याटन उद्योग, जलविद्युत सौर्यउर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बीमा कम्पनीहरुले १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यद्यपी एउटै परियोजनामा भने ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।
नयाँ निर्देशिका अनुसार बीमकहरुले इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ५ प्रतिशतस्म्म तथा प्राइभेट इक्वीटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा १.५ प्रतिशतसम लगानी गर्न पाउनेछन् । एउटै फण्डमा कुल लगानीको बढीमा एक प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था गरिएको छ ।
बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ मा भएका मुख्य मुख्य व्यवस्थाहरु
(१) बीमकलाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने,
(२) जीवन, निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणबाट पूर्वस्वीकृति लिएर कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डारण गृह तथा शीत भण्डारण गृह, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, शिक्षा तथा स्वास्थ्य र लगानी कम्पनी लगायतका क्षेत्रमा व्यवसाय गर्नका लागि कूल लगानीको बढीमा पाँच प्रतिशत रकमसम्म सहायक कम्पनीमा लगानी गर्नसक्ने,
(३) बीमकको संचालक समितिका अध्यक्ष वा सदस्य वा निजका एकाघरपरिवारका सदस्य सहायक कम्पनीको संचालक समितिको अध्यक्ष वा सदस्य वा व्यवस्थापकीय जिम्मेवारीमा नरहेको हुनुपर्ने,
(४) बीमक आफैले संस्थापना गर्ने सहायक कम्पनीमा लगानी गर्नका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेको मितिले एक महिनाभित्र लगानी गरिसक्नुपर्ने,
(५) सहायक कम्पनीले निष्काशन गर्ने कुनै पनि सुरक्षणपत्रहरु तथा उपकरणमा बीमकले लगानी गर्न नपाउने,
(६) बीमकले घरजग्गा व्यवसायमा रहेको लगानीको कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्याङ्कन गर्नुपर्ने,
(७) बीमकले कूल लगानीका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने,
(८) बीमकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम गरेको हुनुपर्ने,
(९) बीमकले लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्ने,
(१०) बीमकले लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्यालगरी लगानी गर्नुपर्ने,
(११) जीवन बीमा व्यवसाय तथा लघुजीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो प्रत्येक पोर्टफोलियोको जीवन बीमा कोष र उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम लगायतका अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने,
(१२) बीमकले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने,
(१३) बीमकले प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र लगानीको विवरण क्ष्च्ःक्ष्क् पोर्टल मार्फत प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
Advertisment