काठमाडौं : ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।
उनलाई बुधबार म्याद थपका लागि अदालत लगिएको थियो । अदालतले भट्टचनलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका प्रवक्त शिव कुमार श्रेष्ठले वित्तीय पोस्टलाई जानकारी दिए।
ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा दायर मुद्दामा अनुसन्धान गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टचनलाई मंगलबार ललितपुरको गोदावरी न.पा. ३ बाट पक्राउ गरेको थियो ।
सीआईबीका अनुसार, प्रभु मनि ट्रान्सफरले नेपाल राष्ट्र बैङ्कबाट रेमिट कारोबारको लाइसेन्स लिएर प्रभु म्यानेजमेन्टलाई ‘सुपर एजेन्ट’ को रूपमा नियुक्त गरेको थियो। तर, सो सम्झौताका आधारमा विभिन्न सहकारीमार्फत भुक्तानी भइरहे पनि ती रकम कम्पनीले सहकारीलाई फिर्ता नगरेको उजुरी ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट परेको बताइएको छ।
सोही उजुरीमा अनुसन्धान भई भट्टचनका नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
Advertisment