काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन आवश्यक रहेको औँल्याएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।
देशमा ठूला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै अध्यक्ष ढकालले देशमै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै पूर्वाधार विकास तथा उद्यमशीलताको विकास लगाउन सकिए मात्र खास उपलब्धि हासिल गर्न सकिने बताए ।
यसैका लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी उनले दिए । यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने उनको भनाइ छ ।
देशको आर्थिक वातावरण सुधार गर्न महासंघले निरन्तर बहस र पैरवी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघले प्राथमिताका साथ उठाएको बताए ।
उनले भने, ‘देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो । जेन–जी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेन्डाहरू महासंघले उठाउँदै आएका एजेन्डाहरू हुन् ।’
उनले थपे, ‘यद्यपि पछिल्लो जेन–जी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरूमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ ।’
उनले निजी क्षेत्रमाथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको बताए ।
‘महासंघको आग्रहमा गृह मन्त्रालय सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ । यसका लागि हामी सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ ।’
सोही अवसरमा उनले महासंघको पहलमा लामो समयदेखिको ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि सरकारसँग सहमतिको प्रयास गरेको र यो प्रयाससँगै विद्युत्को विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको उनले बताए ।
अध्यक्ष ढकालले जिल्ला नगर वाणिज्य संघहरूको मागअनुरुप विधान संशोधन गरी दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरू लाभान्वित हुने बताए ।
उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैँ तयार रहको बताए ।
Advertisment