Below Menu
Below Menu

युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !

युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुराना मापदण्डका सवारी साधनको भन्सार जाँचपास मंसिर १५ सम्म गराउन आग्रह गरेको छ । 

नाडाले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ लागू भएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) को कार्यान्वयनको सन्दर्भमा आफ्ना सदस्य तथा आयातकर्ताहरूलाई तोकिएको समयसीमाभित्र बाँकी सवारी साधनहरूको भन्सार जाँचपास गर्न आग्रह गरेको हो । 

वन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गतेको राजपत्रमार्फत उक्त मापदण्ड लागू गरेपछि यसको कार्यान्वयनलाई सहज बनाउन नेपाल सरकार, अर्थ मन्त्रालयले २०८२ असोज १० गते राजपत्रमार्फत एक विशेष व्यवस्था गरेको थियो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङ्गसिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्व विदितै छ ।’ 

सहुलियत प्राप्त गर्ने सवारी साधनमा नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू हुनुभन्दा पहिले ‘प्रोफर्मा इन्भ्वाइस’ जारी भइसकेका सवारी साधनहरू र नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यसका लागि आवश्यक पार्टपूर्जाहरू प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनहरु रहेका छन् । 

यी सवारी साधन तथा पार्टपूर्जाहरू २०८२ साल मंसिर १५ गतेसम्म पुरानै मापदण्ड (युरो ३ वा अन्य पूर्ववत मापदण्ड) अनुसार पैठारी गर्न पाइनेछ।

नाडाले यस संक्रमणकालीन व्यवस्थाका लागि वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयमा आवश्यक पत्राचार तथा पहल गरेको जानकारी गराउँदै, सोही प्रावधान अनुसार तोकिएको समयसीमा (मंसिर १५, २०८२) भित्र सबै बाँकी रहेका सवारी साधनहरूको भन्सार जाँचपास गराउन व्यवसायीहरूलाई अनुरोध गरेको छ।

यो व्यवस्थाले नयाँ मापदण्ड लागू हुनुअघि नै आयात प्रक्रियामा गइसकेका सवारी साधनहरूको सहज व्यवस्थापनमा सहयोग पुग्ने नाडाले विश्वास लिइएको छ।

Advertisment

थप समाचार