काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शनिबार सम्पन्न २२औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गिरीले भने, ‘कि त प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्छ । होइन भने अन्य व्यक्तिहरु पनि प्रोफेसनल बन्नुपर्छ । यो मान्यता अब स्थापित गरिएको छ ।’
सहकारी बैंकलाई कसैको ‘क्लब’ नबनाउन समेत अध्यक्ष गिरीले आग्रह गरेका छन् । सहकारी बैंकदेखि संघ, महासंघमा राजनीतिक दलहरुले हस्तक्षेप गरेको तितो यर्थाथप्रति इंगित गर्दै उनले यी निकायहरुलाई कुनै राजनीतिक दलको क्लबको रुपमा विकसित नगर्न सचेत गराएका हुन् ।
बैंकको निर्वाचनलाई इंगित गर्दै उनले भने ‘सहकारी बैंकलाई कसैको क्लब नबनाऔं । काम गर्ने साथीहरु जुनसुकै वा जताको भएपनि राम्रो हिसाबले आऔं । सौहार्दपूर्ण हिसाबले आऔं ।’
निर्वाचनको संघारमा रहको सहकारी बैंकको भावी नेतृत्व कस्तो बन्नुपर्छ भन्ने विषयमा समेत बोलेका अध्यक्ष गिरीले भने बैंक मात्र होइन नेफ्स्कून, महासंघ आदि कसैलाई पनि क्लब बनाउन नहुने स्पष्ट पारे ।
‘बैंक मात्र होइन, नेफ्स्कून महासंघ आदि जहाँ जहाँ हुन्छ काम गर्ने प्रोफेशनल सबै क्षेत्रको साथीहरु आउँदा बेटर हुन्छ । यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ’ उनले भने, ‘कुरा बुझ्ने साथी बैंकको सञ्चालक समितिमा आउनुपर्यो । मेरो कुरा त्यही हो । चण्डीजी, डम्बरजीसहित हाम्रो जुम्लाको साथी सबै रहर गरी रहनुभएको छ । सबैलाई मेरो अनुरोध आउनुहोस् तपाईहरु । बिग्रेको केही छैन । अब कसरी राम्रो बनाउने भन्नेमा लागौं । धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेको छ । व्यवस्थापन टिमले पनि धेरै राम्रो काम गरेको छ पछिल्लो पटक । अर्को साल २ अर्ब नाफा हुन्छ, होइन त भरत सर । ३ अर्ब नै पुग्यो भने त लाभांश बाँड्न पनि पुग्ला ।’
त्यसका लागि सल्लाहकारहरुको सहयोगको याचना उनले गरे । ‘सल्लाहकारहरुलाई पनि म त्यही आग्रह गर्छु । किनकि यहाँ अलि त्यस्तैत्यस्तै नै हुन्छ । त्यसलाई चाहिं अलि मिलाएर राम्रो टिम बनाउन यहाँहरुले भूमिका खेल्नुपर्छ । काम गर्ने प्रोफेशनल सबै क्षेत्रका अभियन्ताहरु बैंकमा आउँदा बेटर हुन्छ । यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु’, उनले भने ।
Advertisment