काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले मंसिर ५ गतेदेखि विभिन्न चार स्थानमा एकाइगत सभा आयोजना गरी शनिबार लगनखेलमा निर्णय प्रमाणीकरण सभासहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
संस्थाले मंसिर ५ गते ललितपुरको गोटिखेल, ६ गते चापागाउँ, ९ गते काठमाडौंको बालाजु र १२ गते लगनखेलमा एकाइगत साधारण सभा आयोजना गरेको थियो। शनिबार चौथो एकाइ सभा तथा निर्णय प्रमाणीकरण सभा सम्पन्न भएसँगै संस्थाको २८औँ वार्षिक साधारण सभा औपचारिक रूपमा टुंगिएको हो। साधारण सभाले प्रस्तुत १७ वटा प्रस्तावमाथि छलफल गरी पारित गरेको छ।
संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेको अध्यक्षतामा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा आयोजित कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद मधुसूदन पौडेल प्रमुख अतिथि र महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी विशेष अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं, संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शम्भुप्रसाद फयाल, पूर्वअध्यक्षहरू, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।
संस्थाका अनुसार चारवटै एकाइ सभामा गरी करिब ६६ प्रतिशत सदस्यको सहभागिता रहेको थियो। सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रस्ताव तथा सदस्यहरूबाट प्राप्त सुझाव र सिफारिसमाथि छलफल गरी निर्णय गरिएको थियो।

५० ज्येष्ठ सदस्य र १३० विद्यार्थी सम्मानित
साधारण सभाको अवसरमा संस्थाले ज्येष्ठ सदस्य सम्मान तथा शैक्षिक सम्मान कार्यक्रमसमेत आयोजना गरेको छ। संस्थाले २०६२ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको उक्त कार्यक्रम भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको थियो। शनिबारको सभामा स्थगित कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न विधामा सदस्य तथा उनीहरूका छोराछोरीलाई सम्मान गरिएको हो।
कार्यक्रममा ७० वर्ष उमेर पूरा गरेका ५० जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो। त्यस्तै एसईईभन्दा माथिका विभिन्न शैक्षिक तहमा उत्तीर्ण गरेका सदस्य तथा सदस्यका छोराछोरी गरी १३० जनालाई ‘हाम्रो साकोस शैक्षिक सम्मान २०८३’ प्रदान गरिएको थियो।
उनीहरूमध्ये शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित ‘हाम्रो साकोस सर्वोत्कृष्ट शैक्षिक सम्मान २०८३’ प्रदान गरिएको संस्थाले जनाएको छ।
यसैगरी एमबीबीएस, इन्जिनियरिङ, एमफिल तथा पीएचडी अध्ययन पूरा गरेका र अन्य प्राविधिक विषयमा विशिष्टता हासिल गरेका सदस्यहरूलाई ‘हाम्रो साकोस विशेष शैक्षिक सम्मान’ प्रदान गरिएको थियो।
सदस्यको सुझावअनुसार संस्था अघि बढ्ने प्रतिबद्धता
साधारण सभामा सहभागी सदस्यहरूले संस्थाको नीति, योजना तथा भावी कार्यक्रमका सम्बन्धमा विभिन्न सुझाव र मार्गदर्शन प्रस्तुत गरेका थिए। प्राप्त सुझावलाई संस्थाको नीतिमा समावेश गर्दै संस्थालाई थप सबल, सुदृढ र दिगो वित्तीय सहकारीका रूपमा स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष घिमिरेले व्यक्त गरेका छन्।
संस्थाले साधारण सभामा सहभागी सदस्य, प्रमुख तथा विशेष अतिथि, विभिन्न संघसंस्थामा प्रतिनिधित्व गर्ने सदस्य, पूर्व तथा वर्तमान समिति र उपसमितिका पदाधिकारी, कर्मचारी, व्यवस्थापन समूह तथा सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
ज्येष्ठ सदस्यहरूको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै सम्मानित विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको कामनासमेत संस्थाले गरेको छ।