काठमाडौं : धनुषाको गोदारमा निर्माणाधीन मनसरा होटल प्रालिले होटल परियोजनालाई चारतारेबाट पाँचतारे स्तरमा स्तरोन्नति गर्ने भएको छ।
होटलको क्षमता विस्तार, कोठाको संख्या वृद्धि तथा थप पूर्वाधार निर्माण गर्ने योजनासँगै परियोजनाको कुल लागत बढेर एक अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। यसअघि होटल निर्माणका लागि एक अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।
होटलको स्तरोन्नति र परियोजना लागत वृद्धिसँगै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्ने दीर्घकालीन कर्जाको सीमा पनि बढाएको छ। रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक कर्जाको रेटिङ ‘केयर-एनपी बीबी माइनस’ पुनः कायम गर्दै कर्जाको सीमा ६० करोड रुपैयाँबाट बढाएर एक अर्ब १० करोड ५० लाख रुपैयाँ पुर्याएको छ।
कम्पनीले सुरुमा ६० कोठाको चारतारे होटल निर्माण गर्ने योजना बनाएको थियो। तर, परियोजनालाई पाँचतारे स्तरमा विकास गर्ने निर्णयसँगै कोठाको संख्या ८० पुर्याइएको छ।
त्यस्तै, सभा, सम्मेलन, बैठक तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि छुट्टै संरचना निर्माण गर्ने योजना पनि थपिएको छ। होटलको सेवा तथा सुविधाको दायरा विस्तार गरिएपछि निर्माण लागत बढेको रिपोर्टमा उल्लेख छ।
संशोधित परियोजना लागतअनुसार कुल लगानीको ५६ प्रतिशत अर्थात् एक अर्ब १० करोड ५० लाख रुपैयाँ ऋणबाट र बाँकी ४४ प्रतिशत अर्थात् ८७ करोड ७० लाख रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ।
यसअघि परियोजनाको वित्तीय संरचनामा ऋणको हिस्सा ३९ प्रतिशत र स्वपुँजीको हिस्सा ६१ प्रतिशत थियो। नयाँ योजनाअनुसार कम्पनीको ऋणमा निर्भरता बढेको देखिन्छ। यद्यपि, प्रस्तावित ऋणको केही हिस्सा अझै सुनिश्चित हुन बाँकी रहेको रेटिङ प्रतिवेदनले औँल्याएको छ।
परियोजनाको निर्माण तथा वित्तीय प्रगति भने प्रारम्भिक चरणमै रहेको छ। सन् २०२६ नोभेम्बर २ सम्ममा संशोधित कुल परियोजना लागतको २२ प्रतिशत मात्रै वित्तीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।
परियोजनाको लागत बढ्नुका साथै थप संरचना निर्माण गर्नुपर्ने भएकाले निर्धारित समय र अनुमानित लागतभित्र निर्माण सम्पन्न गर्नु कम्पनीका लागि चुनौतीपूर्ण हुन सक्ने रेटिङ एजेन्सीको विश्लेषण छ। कम्पनीले भने सन् २०२९ जुलाईदेखि होटलको व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ।
पाँचतारे स्तरमा निर्माण हुने होटलमा एक प्रेसिडेन्सियल सुइट, पाँच सुइट रुम र ७४ स्ट्यान्डर्ड रुम गरी कुल ८० कोठा रहनेछन्। होटलमा रेस्टुरेन्ट, ब्याङ्क्वेट हल, तालिम हल, बैठक तथा सेमिनारका लागि छुट्टै सुविधा निर्माण गरिनेछ। त्यसैगरी, स्विमिङ पुल, स्पा, साउना र जिम्नेसियमलगायतका मनोरञ्जन तथा स्वास्थ्यसम्बन्धी पूर्वाधार पनि उपलब्ध हुनेछन्।
कम्पनीले होटललाई धार्मिक पर्यटक, विवाह समारोह, कर्पोरेट कार्यक्रम तथा उच्चस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालन गर्ने योजना बनाएको छ। विशेषगरी विवाह समारोह, सभा, सम्मेलन र व्यावसायिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विकास गरिने भएकाले होटललाई धनुषा तथा आसपासका क्षेत्रको आतिथ्य र कार्यक्रम व्यवस्थापन सेवाको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
धनुषा धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले होटलका लागि बजार सम्भावना रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ। जनकपुरधामस्थित जानकी मन्दिर, धनुषाधामलगायत धार्मिक स्थलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई होटलका सम्भावित ग्राहकका रूपमा हेरिएको छ।
सरकारले जनकपुरधामलाई विवाह पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गर्नुका साथै यस क्षेत्रको पूर्वाधार विकासमा जोड दिँदै आएको छ। त्यसैगरी, भारतको स्वदेश दर्शन योजनाअन्तर्गत रामायण सर्किटमा जनकपुरधाम समावेश हुनुले पनि धार्मिक पर्यटकको आवागमन विस्तारमा सकारात्मक भूमिका खेल्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
जनकपुरधाम तथा आसपासका क्षेत्रमा स्तरीय होटल र आतिथ्य सेवासम्बन्धी पूर्वाधारको सीमित उपलब्धतालाई पाँचतारे होटलका लागि अवसरका रूपमा विश्लेषण गरिएको छ। धार्मिक पर्यटनसँगै विवाह पर्यटन र कर्पोरेट कार्यक्रमलाई लक्षित गर्न सके होटलले विभिन्न क्षेत्रका ग्राहक आकर्षित गर्न सक्ने कम्पनीको अपेक्षा छ।
मनसरा होटल प्रालि २१ अक्टोबर २०२४ मा कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो। परियोजना धनुषाको गोदारमा करिब ९.२ एकड क्षेत्रफलमा फैलिएको छ । परियोजनामा बिजनेस इन्ट्रेस्ट ग्रुप (बीआईजी) अफ इन्डस्ट्रिजसँगको आबद्धता रहेको छ।
कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन् । व्यवसायी पन्त कालिञ्चोक हाइड्रोपावर लिमिटेडकी अध्यक्षसमेत रहेकी छन्।