काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सहकारीमा आवद्ध सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउने स्पष्ट योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन्।
नेफ्स्कूनको आयोजनामा आजदेखि सुरु भएको ‘साकोस शिखर गोष्ठी २०८२’ को उद्घाटन गर्दै मन्त्री इङ्नामले सहकारीको मर्ममाथि गम्भीर प्रश्न उठाए। उनले भने, “सहकारी खोलेर सञ्चालकहरू मात्र धनी हुने कि सदस्यहरूलाई समृद्धिको बाटोमा लैजाने ?”
सहकारी पीडितहरू सडकमा रोइरहेको अवस्थाप्रति संकेत गर्दै मन्त्री इङ्नामले “यही हो सहकारीको भावना ?” भन्दै तीखो प्रश्न गरे। सहकारीलाई स्वःनियमनमा चल्ने संस्था भन्ने तर जनताको बचत दुरुपयोग हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो। “गरिब जनताको बचत लुट्न स्वःनियमनको नाम लिनु गलत हो,” उनले स्पष्ट पारे।
मन्त्री इङ्नामले सदस्यको बचत दुरुपयोग गरेर आर्जन गरिएको सम्पत्ति जुनसुकै समयमा पनि राज्यले जफत गरी पीडितलाई फिर्ता गरिने चेतावनी दिए। “तपाईंहरूले सुरक्षित राख्न खोजेको सम्पत्ति शाखा–सन्तानबाट भए पनि जनताको बचत फिर्ता गराइन्छ, यसमा ढुक्क हुनुहोस्,” उनले भने।
नियामक निकायको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उनले स्वार्थ जोडिएको नियमन कहिल्यै प्रभावकारी नहुने स्पष्ट पारे।
उनले मुलुकको अर्थतन्त्र मुख्यतः रेमिटान्समा निर्भर रहेको उल्लेख गर्दै सहकारीमार्फत उद्यमशीलता विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।
सहकारी ऐन संशोधनमार्फत थुप्रै सुधारात्मक व्यवस्था गरिएको उल्लेख गर्दै उनले अब सहकारी क्षेत्र व्यवस्थित हुने विश्वास व्यक्त गरे।
Advertisment