Below Menu
Below Menu

बलियो सुशासन र आन्तरिक नियन्त्रणबिनाको सहकारी दिगो हुँदैन: बैंकर ज्ञवाली

बलियो सुशासन र आन्तरिक नियन्त्रणबिनाको सहकारी दिगो हुँदैन: बैंकर ज्ञवाली

काठमाडौं : सहकारी क्षेत्रमा देखिँदै आएका समस्याको मूल कारण कमजोर सुशासन र फितलो आन्तरिक नियन्त्रण प्रणाली भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले औंल्याएका छन्। नेफ्स्कूनले आयोजना गरेको साकोस शिखर गोष्ठीमा आफ्नो प्रस्तुतीकरण राख्दै उनले सहकारी संस्थागत दिगोपनाको पहिलो सर्त नै सुशासन र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली भएको स्पष्ट पारे।

उनका अनुसार सहकारीहरूले जति सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँछन्, त्यति नै संस्थागत दिगोपना सुनिश्चित हुन्छ। यसले सहकारीको छवि निर्माण, विश्वसनीयता अभिवृद्धि र सदस्यको भरोसा जित्न प्रत्यक्ष भूमिका खेल्ने उनको तर्क थियो।

सहकारीमा लगानी र ऋण स्वीकृतिका क्रममा देखिने अत्यधिक ‘फ्लेक्जिबिलिटी’ प्रति पनि ज्ञवालीले फरक दृष्टिकोण राखे। नीति–नियममा लचकता हुँदा वित्तीय समावेशिता र पहुँच त बढ्न सक्छ, तर त्यो आवश्यकता भन्दा बढी भयो भने अन्ततः संस्थाकै लागि घातक बन्न सक्ने चेतावनी उनले दिए।
‘लड्डु मिठो हुन्छ, खाँदा आहाँ पनि हुन्छ,’ उनले उदाहरण दिँदै भने, ‘तर धेरै खायो भने सुगर भइहाल्छ।’ सहकारीमा सुशासन कस्तो छ भन्ने आत्ममूल्यांकन गर्न उनले सहभागीहरूलाई चुनौतीसमेत दिए।

‘तपाईंहरूको संस्थामा ऋण कसरी स्वीकृत हुन्छ ? अध्यक्षले भनेकै भरमा हुन्छ कि ? लेखा सुपरिवेक्षण समितिले बोलेपछि सबै कुरा मिल्छ कि ? फलानोलाई आजै लोन दे, कागजात पछि मिलाऔँला भन्ने चलन छ कि छैन ?’ ज्ञवालीले प्रश्न गरे।

विश्वास नै सहकारीको मेरुदण्ड

सहकारी क्षेत्रमा आज सबैभन्दा ठूलो आवश्यकता विश्वास पुनर्जागरण भएको ज्ञवालीको ठम्याइ छ। सहकारी अभियन्ता, नियामक र सरोकारवालाहरू सबैको साझा निष्कर्ष पनि यही रहेको उनले उल्लेख गरे। नीति, नियम, अनुगमन र सुपरिवेक्षणभन्दा पनि सहकारीमा विश्वासको अर्थ गहिरो हुने उनको भनाइ थियो।

‘मेरो बचत सुरक्षित छ’ भन्ने अनुभूति सदस्यलाई सहकारीले नै दिलाउनुपर्ने भन्दै उनले सुशासन भएको, सञ्चालक र व्यवस्थापनले बद्मासी नगर्ने छवि निर्माण गर्न सके सहकारीमा बचत र कारोबार स्वाभाविक रूपमा बढ्ने बताए।

‘सहकारीमा बचत संकलन र ऋण लगानी दुबैमा विश्वासले बढी काम गर्छ,’ उनले भने, ‘त्यो विश्वास आर्जन गर्न छवि सुधार आवश्यक छ, र छवि सुधारको आधार भनेको सुशासन र बलियो आन्तरिक नियन्त्रण प्रणाली नै हो।’

सुशासन कमजोर भए श्रृङ्खलाबद्ध ऋण डुब्छ
कुनै विशेष कारणले एक–दुईवटा ऋण डुब्दैमा सम्पूर्ण संस्था डुब्ने खतरा नरहे पनि संस्थागत सुशासन र नीतिगत कमजोरी भए श्रृङ्खलाबद्ध रूपमा ऋण डुब्ने जोखिम उच्च हुनेतर्फ ज्ञवालीले सचेत गराए। ‘गभर्नेन्स ठीक भएको संस्था डुब्दैन,’ उनले स्पष्ट शब्दमा भने।

अधिक तरलता: सहकारीका लागि सुनौलो अवसर
अहिलेको अवस्थालाई सहकारीका लागि ‘गोल्डेन टाइम’को संज्ञा दिँदै उनले बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको जानकारी दिए। बैंकहरूले फिक्स्ड डिपोजिट (एफडी) मा २.७५ प्रतिशत मात्रै ब्याज दिइरहेको अवस्थामा सहकारीहरूले ६–७ प्रतिशतमा दीर्घकालीन बचत संकलन गर्न सके सदस्यहरू उत्साहित हुने उनको धारणा थियो।

केही सहकारीको बद्मासीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको उल्लेख गर्दै उनले राम्रा सहकारीहरूले यो अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। ‘यसले सहकारीको फन्डामेन्टल बलियो बनाउँछ,’ ज्ञवालीले भने।

तर, सहभागीहरूले अर्थतन्त्र संकुचन, उद्योगधन्दा सुस्त, युवा विदेश पलायन र राजनीतिक अस्थिरताको अवस्थामा लगानी कहाँ गर्ने भन्ने प्रश्न उठाए। यसमा उनले ठोस मन्त्र नदिए पनि आफ्नो भूगोल, परिवेश, सदस्यको आवश्यकता र स्थानीय बजारको विश्लेषण गरेर स-साना लगानीका विकल्प खोज्न आग्रह गरे। स्थानीय आवश्यकता पूरा गर्ने माइक्रो इन्टरप्राइजेजमा लगानी गर्नुपर्ने उनको सुझाव थियो।

रिजर्भ बलियो बनाउन आग्रह
सहकारीहरूलाई जगेडा कोष (रिजर्भ) बलियो बनाउन आग्रह गर्दै उनले न्यूनतम कानुनी प्रबन्धभन्दा केही बढी रिजर्भ राख्न सके ‘लस अब्जर्ब’ गर्न सहज हुने बताए। ‘बोर्डबाट निर्णय गरेर साधारणसभाबाट पारित गर्न सकिन्छ भने बढी रिजर्भ राख्दा कुशन क्रिएट हुन्छ,’ उनले भने। सदस्य शिक्षा, सहकारी शिक्षा र वित्तीय साक्षरतामा अझ बढी काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले निजी बैंकहरू सहकार्यका लागि तयार हुनुपर्ने धारणा राखे।
‘नबिलको हकमा हामी सहकारीसँग मिलेर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्न तयार छौं,’ उनले प्रतिबद्धता जनाए।
 

Advertisment

थप समाचार