Below Menu
Below Menu

एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै

एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा (आज) बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ। 

उक्त संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको विकास र समृद्धिको लागि साझा धारणा तय हुन सकोस भन्ने उद्देश्य सहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए।

‘राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव हुँदैन’, अध्यक्ष ढकालले भने, ‘यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।’

उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए। 

महासंघले आयोजना गर्न लागेको उक्त कार्यक्रमले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले निरन्तर छलफल, अन्तरक्रिया तथा पैरवी गर्दै आएको छ । सोही प्रयासको निरन्तरता स्वरूप महासंघले हालै ‘राष्ट्रिय आर्थिक बहस २.०’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।

Advertisment

थप समाचार