Below Menu
Below Menu

दर्शक अभावले स्काइवाक टावर दबाबमा, आम्दानी खुम्चिँदा घाटाको खाडल चुलियो 

दर्शक अभावले स्काइवाक टावर दबाबमा, आम्दानी खुम्चिँदा घाटाको खाडल चुलियो 

काठमाडौं : देशकै सबैभन्दा अग्लो तथा दक्षिण एसियाकै पहिलो स्काइवाक टावर सञ्चालन गर्दै आएको वन्डर्स नेपाल प्राइभेट लिमिटेडको वित्तीय अवस्था थप दबाबमा परेको देखिएको छ ।

पछिल्लो वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ भने उच्च ब्याज खर्चका कारण कम्पनी घाटामा गएको छ ।

कम्पनीले आर्थिक वर्ष २०२४ मा १० करोड ५० लाख रुपैयाँको आम्दानी गरेकोमा आर्थिक वर्ष २०२५ मा घटेर ८ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको तुलनामा एक करोड ८० लाख रुपैयाँ अर्थात् १७.१४ प्रतिशतले कम हो । केयर रेटिङ नेपालका अनुसार अडिट सम्पन्न भएपछि आम्दानी तथा नाफा अझै घट्न सक्ने सम्भावना रहेको छ ।

कमलादीस्थित २६ तले, २५६ फिट अग्लो स्काइवाक टावरले वार्षिक ७ लाख २० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको भए पनि हाल टावरले आफ्नो कुल क्षमताको करिब १२ प्रतिशत मात्र सेवा बिक्री गर्न सकेको छ । 

दैनिक करिब २ हजार दर्शक समेट्ने क्षमता रहेको टावरमा हाल औसतमा करिब २०० दर्शक मात्र पुग्ने गरेका छन् । कमजोर दर्शक संख्या नै आम्दानी घट्नुको प्रमुख कारणका रूपमा देखिएको छ ।

नाफा सुध्रिएपनि ब्याजको बोझ भारी 

सन् २०२३ को जुन महिनाको मध्यतिर पूर्ण रूपमा सञ्चालन सुरु गरेपछि कम्पनीले केही हदसम्म लागत नियन्त्रणमा सुधार गरेको छ । यसको असरस्वरूप सञ्चालन नाफा आर्थिक वर्ष २०२४ को ५१.४३ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२५ मा ६६.३४ प्रतिशत पुगेको छ ।

तर, सञ्चालन नाफा अनुपात सुधार भए तापनि उच्च ब्याज खर्च र घट्दो आम्दानीका कारण कम्पनीको समग्र नाफामा भने नकारात्मक असर परेको छ । 

आर्थिक वर्ष २०२५ मा कम्पनीले करिब २ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ । सोही अवधिमा करिब ५ करोड ७० लाख रुपैयाँ बराबरको ब्याज खर्च हुँदा सञ्चालनबाट आएको अधिकांश नाफा ब्याज भुक्तानीमै खर्चिएको देखिन्छ ।

ऋणको भार र वित्तीय जोखिम कायमै 

केयर रेटिङ नेपालका अनुसार वन्डर्स नेपालको वित्तीय जोखिम प्रोफाइल कमजोर रहेको देखिएको छ । कम्पनीको कुल गियरिङ अनुपात (ऋण–पुँजी अनुपात) आर्थिक वर्ष २०२५ को अन्त्यसम्म २.१५ गुणा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो । सञ्चित घाटाका बढ्दै जाँदा ऋण–पुँजी अनुपात थप बिग्रिएको हो ।

यसैगरी, ब्याज तिर्ने क्षमता करिब १.० गुणामा सीमित रहेको छ । कमजोर आम्दानी वृद्धि, न्यून क्षमता उपयोग, उच्च ब्याज खर्च र मध्यम स्तरको ऋण भारका कारण वन्डर्स नेपालको वित्तीय दबाबमा रहेको हो । 
 

Advertisment

थप समाचार