Below Menu
Below Menu

अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड

अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटमा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका आधारमा साझेदारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपालमा उपलब्ध लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिने उल्लेख गरे।

अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु भए पर्यटन, व्यापार तथा समग्र व्यावसायिक आवागमन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने पनि बताए । यूएई वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको धारणा व्यक्त गरे ।

भेटका क्रममा दुवै पक्षले सहकार्यलाई अझ गहिरो बनाउँदै आगामी दिनमा ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सचिव अल सालेहले सन् २०१८ मा गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाली आतिथ्यता र नेपाली खानाले आफूलाई निकै प्रभावित पारेको प्रतिक्रिया व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए।

Advertisment

थप समाचार