Below Menu
Below Menu

मैनावती स्टीलको आम्दानी र नाफामा गिरावट, वित्तीय दबाब बढ्दै

मैनावती स्टीलको आम्दानी र नाफामा गिरावट, वित्तीय दबाब बढ्दै

काठमाडौं : सन् २०२५ मा विशाल ग्रुप अन्तगर्तको मैनावती स्टील इन्डस्ट्रीजको कारोबार तथा नाफामा उल्लेखनीय गिरावट देखिएको छ । कमजोर बजार माग, तीव्र प्रतिस्पर्धा र बढ्दो कच्चा पदार्थ लागतका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा परेको देखिएको हो । 

इन्फोरिमिक्स क्रेटिड रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको कुल सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशत घटेर दुई अर्ब ९८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।

सन् २०२४ मा कम्पनीको आम्दानी ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ रहेको थियो । यसअघिका वर्षहरुमा कम्पनीले राम्रो आम्दानी गरेको थियो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३ करोड ५० लाख र सन् २०२२ मा चार अर्ब २९ करोड ८० लाख बराबरको आम्दानी गरेको थियो । 

नाफा र ब्याज तिर्ने क्षमता कमजोर 

आम्दानीसँगै कम्पनीको नाफा मार्जिनमा पनि गिरावट आएको छ  । सन् २०२५ मा मैनावती स्टीलको अपरेटिङ प्रफिट मार्जिन ६.६५ प्रतिशतबाट घटेर ३.४६ प्रतिशतमा झरेको छ भने खुद नाफा मार्जिन १.६४ प्रतिशतबाट ०.५५ प्रतिशतमा सीमित भएको छ । 

नाफा मार्जिन खस्किँदा कम्पनीको ब्याज तिर्ने क्षमता समेत कमजोर भई ब्याज कभरेज रेसियो १.८३ गुणाबाट घटेर १.०२ गुणामा झरेको छ । कम्पनीको ऋणभार भने मध्यम स्तरमै रहेको छ । सन् २०२५ को अन्त्यसम्म गियरिङ रेसियो १.४३ गुणा रहेको छ भने कुल दायित्व र कुल नेटवर्थको अनुपात १.५७ गुणामा सुधार देखिएको छ । ऋण सेवा गर्ने क्षमता १.१५ गुणा रहेकोले छ । 

कार्यशील पुँजीमा उच्च दबाब

स्टील उद्योग अत्यधिक कार्यशील पुँजीमा निर्भर हुने भएकाले मैनावती स्टीलको तरलता अवस्था पनि दबाबमा देखिएको छ । सन् २०२५ मा कम्पनीको वर्किङ म्यापिटल इन्टेन्सिटी करिब ६३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ५० प्रतिशत थियो । कम्पनीको सञ्चालन चक्र २२४ दिन पुगेको छ, जसमा औसत भण्डारण अवधि १५० दिन र औसत उठानी अवधि ९३ दिन रहेको छ । 

क्रेडिट रेटिङ घटाइयो 

कम्पनीको वित्तीय सूचक र व्यापारिक सुस्तीका कारण रेटिङ एजेन्सीले मैनावती स्टिलको क्रेडिट रेटिङ घटाएको छ । यसअघि दीर्घकालिन ऋणका लागि ‘बिबिमाइनस’ र अल्पकालिन ऋणका लागि ‘ए३’ रहेको रेटिङलाई घटाएर क्रमशः ‘बिबिप्लस’ र ‘ए४प्लस’मा झारिएको हो । 

कम्पनीलाई बैंक तथा वित्तीय संस्थाबाट कुल ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा तोकिएको छ, जसमा एक अर्ब २१ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जा सीमा रहेको छ ।

आयातमा निर्भरता र ग्राहकलाई लामो उधारो सुविधा दिनु पर्ने अवस्थाले बैंक ऋणमा निर्भरता बढाएको छ ।  कार्यशील पुँजी अभाव टार्न कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन क्रेडिट रेटिङ गराएको हो ।

विदेशी मुद्रा र नीतिगत जोखिम

मैनावती स्टीलका मुख्य कच्चा पदार्थ लागतको ७०–७५ प्रतिशत आयातमा आधारित छ । कोइला, जिंक इन्गट, रड, एंगल लगायतका सामग्री भारत तथा अन्य मुलुकबाट अमेरिकी डलरमा आयात गरिने भएकाले कम्पनी विदेशी मुद्रा जोखिममा रहेको छ ।

यसैगरी सरकारले आयात महसुल घटाउने वा नीतिगत परिवर्तन गरेमा घरेलु उत्पादकहरूलाई थप चुनौती आउन सक्ने भएकाले नियामक जोखिम पनि कम्पनीका लागि महत्वपूर्ण रहेको छ ।

यद्यपि चुनौतीबीच पनि मैनावती स्टीलको करिब तीन दशक लामो अनुभव,‘एमएसआई’ ब्रान्डको बलियो पहिचान, उत्पादनको विविधता र देशभर फैलिएको बिक्री सञ्जालले कम्पनीलाई बजारमा टिकाइरहेको छ । उद्योग क्षेत्र भारत–नेपाल सीमासँग नजिक रहेको कारण ढुवानी लागत कम हुने भएकाले कम्पनीका लागि फाइदाजनक रहेको छ । 

विशाल ग्रुप अन्तर्गतको मैनावती स्टीलमा १७ प्रतिशत शेयर स्वामित्व अध्यक्ष त्रिलोकचन्द अग्रवालको रहेको छ । कम्पनीको उत्पादन प्लान्ट सुनसरीको दुहवीमा छ । कम्पनीसँग वार्षिक १ लाख १३ हजार ९ सय मेट्रिक टन स्टीलजन्य सामग्री उत्पादन क्षमता छ । कम्पनीले एमएस ब्ल्याक पाइप, जीआई पाइप, सटर प्रोफाइल, वायर र अन्य फलामे सामग्री उत्पादन गर्दै आएको छ । 


 

Advertisment

थप समाचार