Below Menu
Below Menu

हिम सगरमाथा कन्स्ट्रक्सनको कारोबार ५७ प्रतिशतले घट्यो, लागत नियन्त्रणले नाफा मार्जिनमा सुधार

हिम सगरमाथा कन्स्ट्रक्सनको कारोबार ५७ प्रतिशतले घट्यो, लागत नियन्त्रणले नाफा मार्जिनमा सुधार

काठमाडौं : हिम सगरमाथा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको कारोबार सन् २०२५ मा उल्लेख्य रूपमा घटेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले यस वर्ष २७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.२० प्रतिशत कम हो । 

कम्पनीको कारोबार सन् २०२४ मा ६५ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २५ अर्ब ९० करोड रुपैयाँ थियो । पछिल्ला वर्षहरूमा कम्पनीको वित्तीय प्रदर्शन उतारचढावयुक्त देखिएको केयर रेटिङको प्रतिवेदनले देखाएको छ ।

कारोबारमा गिरावट आए पनि प्रभावकारी लागत नियन्त्रणका कारण सञ्चालन नाफा (पीबीआईएलटिडी) मार्जिनमा सुधार देखिएको छ । सन् २०२५ मा यो मार्जिन १२.७४ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा ५.४० प्रतिशत र सन् २०२३ मा ९.७० प्रतिशत थियो । यद्यपि, खुद नाफा भने अघिल्लो वर्षकै स्तरमा एक करोड ६० लाख रुपैयाँमा स्थिर रहेको छ ।

कम्पनीको पूँजी संरचना सन्तुलित रहेको केयर रेटिङको निष्कर्ष छ । कुल गियरिङ ०.४८ गुणामा सीमित रहेको छ भने ब्याज तिर्ने क्षमता (ब्याज कभरेज रेसियो) सन् २०२५ मा ४.८६ गुणा रहेको छ । यो अनुपात सन् २०२४ मा ७.७६ गुणा र सन् २०२३ मा ४.१२ गुणा थियो ।

केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक कर्जामा ‘बीबी माइनस’ र अल्पकालीन बैंक सुविधामा ‘एफोर’ रेटिङ यथावत् राखेको छ । कम्पनीले बैंकिङ सुविधाअन्तर्गत कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ । यसमा दीर्घकालीन कर्जाका लागि ९० लाख रुपैयाँ, अल्पकालीन कर्जाका लागि ३३ करोड ८२ लाख रुपैयाँ तथा दीर्घकालीन र अल्पकालीन दुवै सुविधाका लागि ८५ करोड २७ लाख रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०८२ असार मसान्तसम्म कार्यान्वयन हुन बाँकी अर्डरबुक ८१ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो अवधिको ६८ करोड ५० लाख रुपैयाँभन्दा बढी हो । आर्थिक वर्ष २०८१र८२ मा थपिएका तीन नयाँ परियोजनाका कारण अर्डरबुक बढेको हो ।

तर, कम्पनीको अर्डरबुक मुख्यतः पुल निर्माण, डिजाइन, निर्माण तथा मर्मतसम्भारमा केन्द्रित रहेकाले क्षेत्रगत एकाग्रता जोखिम कायम रहेको केयर रेटिङले औंल्याएको छ । परियोजना समयमै सम्पन्न गर्ने क्षमता, नियमित बिलिङ र भुक्तानीको समयमै प्राप्ति कम्पनीको आम्दानी र नाफाका लागि निर्णायक हुने बताइएको छ । अधिकांश ठेक्का सडक विभाग तथा स्थानीय सरकारी निकायबाट प्रतिस्पर्धात्मक टेन्डरमार्फत प्राप्त हुने भएकाले न्यून मूल्यमा बोलपत्र हाल्नुपर्ने जोखिम पनि रहेको छ ।

निर्माण व्यवसायमा उच्च कार्यशील पूँजी आवश्यक पर्ने, बैंक ग्यारेन्टी र नगद मार्जिनको दबाब तथा भुक्तानी ढिलाइका कारण वित्तीय जोखिम बढ्न सक्ने केयर रेटिङको विश्लेषण छ । यद्यपि, सरकारी निकायसँगको काम भएकाले काउन्टरपार्टी जोखिम मध्यमस्तरको रहेको र अधिकांश ठेक्कामा ‘एस्केलेसन क्लज’ समावेश भएकाले कच्चा पदार्थ तथा श्रम लागत वृद्धिबाट हुने जोखिम केही हदसम्म न्यूनीकरण भएको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीका अध्यक्ष सूर्यप्रसाद तिमिल्सिनाले दुई दशकभन्दा बढी समयदेखि निर्माण क्षेत्रमा नेतृत्व दिँदै आएका छन् । निर्देशक दीपक खड्कासँग निर्माण सामग्री उत्पादन तथा व्यापारको अनुभव रहेको छ । नेपालभर सडक तथा पुल परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको इतिहासले कम्पनीको विश्वसनीयता बलियो बनाएको केयर रेटिङको निष्कर्ष छ ।

सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमा पूर्वाधार विकासका लागि १५२ अर्ब रुपैयाँ विनियोजन गरेकाले निर्माण कम्पनीहरूका लागि अवसर बढ्ने अपेक्षा गरिएको छ । तर, पूँजीगत खर्च अपेक्षाअनुसार कार्यान्वयन नहुने र परियोजना कार्यान्वयनमा ढिलाइ हुने जोखिम आगामी दिनमा पनि कायम रहने केयर रेटिङको ठहर छ ।

Advertisment

थप समाचार