बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार: अध्यक्ष ढकाल

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार: अध्यक्ष ढकाल

धादिङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।

उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको उल्लेख गर्दै यस आयोजनामा स्रोतको कमी भए निजी क्षेत्रको तर्फबाट उक्त कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताएका छन् ।

नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत विकाससँगै खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायका सम्भावनाहरू पनि थप उजागर हुने बताएका छन् ।

अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका सम्भावनायुक्त क्षेत्रहरू—खनिज, कृषि तथा अन्य उद्यम र व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरेका छन् ।

उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट तथा स्रोतभित्र सम्पन्न गर्ने गरेको बताए ।

“गत भदौको जेन जी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको थियो । तर, निजी क्षेत्रका धेरैजसो व्यवसाय अहिले मर्मत, सम्भार र पुनर्निर्माण गरी सञ्चालनमा आइसकेका छन् । निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट तथा स्रोतमा सम्पन्न गर्दै आएको छ,” उनले भने ।

उनले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित बन्न पुगेको बताए ।

“निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, निजी क्षेत्र किन सधैं उपेक्षित हुन्छ?” उनले प्रश्न गरे ।

अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेला–महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका खेल्ने बताउँदै यस्ता मेला–महोत्सवलाई महासंघले सधैं प्राथमिकतामा राख्दै आएको बताए ।

“यस्ता मेला–महोत्सवले स्थानीय उत्पादन तथा सम्भावनाको प्रवर्द्धन गर्न सहयोग पुग्छ । यसले स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार गर्न र रोजगारी सृजना गर्न सहयोग गर्ने भएकाले हामी यस्ता मेला–महोत्सवलाई विशेष महत्वका साथ अगाडि बढाउँदै आएका छौँ,” उनले भने ।

थप समाचार