Below Menu
Below Menu

गुरुङको २१ बुँदे योजनाः सहकारी पीडितको बचत फिर्तादेखि वार्षिक ३० लाख पर्यटकसम्म

गुरुङको २१ बुँदे योजनाः सहकारी पीडितको बचत फिर्तादेखि वार्षिक ३० लाख पर्यटकसम्म

पोखरा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कुशल गुरुङले आफ्नो मुख्य चुनावी एजेण्डा आर्थिक विकास रहेको बताएका छन् ।

उनले नेपाल प्राकृतिक स्रोतसाधनले धनी देश भएको उल्लेख गरे । देशमा अथाह जलस्रोतको सम्भावना रहेको र सुन्दर नगरी पोखरामा पर्यटन विकासका प्रशस्त अवसर रहेको उनको भनाइ थियो ।

‘हाम्रो यो चुनावमा मुख्य एजेण्डा आर्थिक विकास नै हो । नेपाल प्राकृतिक स्रोतमा धनी देश हो । जलस्रोतको ठूलो सम्भावना छ । सुन्दर पोखरामा पर्यटनको पनि अथाह सम्भावना छ,’ उनले भने ।

गुरुङले यिनै सम्भावनालाई आधार बनाएर आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे । पर्यटन र ऊर्जा क्षेत्रको विकासमार्फत क्षेत्रको समग्र आर्थिक अवस्था उकास्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

चुनावी घोषणा पत्र र २१ बुँदे प्रतिवद्दतापत्रसहित मैदानमा रहेका उनले पर्यटकीय नगरी पोखरासहित कास्कीको विकासका लागि भिजनरी उम्मेद्वारका रुपमा हेरिएको छ ।

घोषणा पत्रमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमार्फत वार्षिक ३० लाख पर्यटक भित्र्याउने, फेवाताल संरक्षण रामसार मापदण्ड अनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्नेलगायत दर्जनबढी महत्वकांक्षी योजना अघि सारेका छन् ।

गुरुङका २१ बुँदे प्रतिवद्धता पत्र

१. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गराई वार्षिक ३० लाख पर्यटक भित्राउने ठोस योजना कार्यान्वयन गर्नेछौँ।

२. पृथ्वीचोकस्थित बसपार्कलाई व्यवस्थित र विस्तार गर्दै सार्वजनिक शौचालय, अपांगमैत्री संरचना, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्क निर्माण गर्नेछौँ।

३. फेवाताल संरक्षण रामसार मापदण्ड अनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्नेछौँ।

४. सेती कोरिडोर विकास योजना अन्तर्गत शान्ति वन जैविक विविधता उद्यान सुधार, रामघाट जलाधारलाई जलविहार मनोरञ्जन केन्द्र, घाटहरूलाई स्वच्छ र व्यवस्थित, तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयबाट बागमारा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं।

५. पोखरालाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै खेलकुद पर्यटनमार्फत व्यापक स्वरोजगारी सिर्जना गर्नेछौँ।

६. वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई तत्काल प्रतिक्रिया प्रणाली लागू गर्नेछौँ।

७. जलवायु उत्थानशील कृषि प्रणाली अपनाई कृषकलाई जलवायु जोखिम बीमा, प्रविधि र प्राविधिक सहयोगको विशेष प्याकेज कार्यान्वयन गर्नेछौँ।

८ अन्तर्राष्ट्रिय जलवायु वित्तमार्फत ‘जलवायु कोष’ स्थापना गरी जलविद्युत आयोजनामा जलवायु उत्थानशील प्रविधि अपनाउँदै दिगो ऊर्जा विकास सुनिश्चित गर्नेछौँ।

९. पोखरा डिजिटल इकोसिस्टम स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्नेछौँ।

१०. सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एआइ आधारित शिक्षा र तालिम प्रभावकारी रूपमा लागू गर्नेछौँ।

११. कास्की, स्याङ्जा र तनहुँका स्थानीय तहहरू समेटेर एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान कार्यान्वयन गर्नेछौँ।

१२. भूपू गोर्खासैनिकहरूको विरासतको सम्मान गर्दै ब्रिटिस गोर्खा संग्रहालयलाई आधुनिक ‘गोर्खा संग्रहालय’ मा स्तरोन्नति गर्नेछौँ। नेपालका युवाहरूका लागि सम्मानजनक, सुरक्षित र सहमति(आधारित भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गराउन कूटनीतिक पहल गर्नेछौँ।

१३. सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बस्तीहरूको न्यायपूर्ण, व्यावहारिक र दिगो समाधान सुनिश्चित गर्नेछौँ।

१४. संगीत र मनोरञ्जन क्षेत्रको विकास गर्दै युवालाई रोजगारी र उद्यमशीलतामा जोड्दै कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्नेछौँ।

१५. पार्क, खेलमैदान र सार्वजनिक खुला स्थान विस्तार गरी शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक एकता मजबुत बनाइनेछ।

१६. सरकारी अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइनेछ।

१७. कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन र वैज्ञानिक लेखापरीक्षण लागू गर्दै आधारित सुशासन प्रणाली मार्फत सेवा प्रवाह छरितो र पारदर्शी बनाइनेछ।
१८. बाटुलेचौरमा ‘सारङ्गी घर’ निर्माण गरी पर्यटकले टिकट लिएर नेपाली रैथाने संगीत सुन्ने थलो बनाइनेछ। यसको व्यवस्थापन स्थानीय गन्दर्भ समुदायले गर्नेछन्।

१९. भलाम, आँटीघर, मौजा, अर्मला लगायत ग्रामीण क्षेत्रलाई कृषि(पर्यटन र पूर्ण अर्गानिक उत्पादन क्षेत्रका रूपमा विकास गरी उच्च मूल्यमा बजारीकरणको व्यवस्था गरिनेछ।

२०. कृष्तिदेखि भरतपोखरी र निर्मलपोखरीसम्मको सुन्तला पकेट क्षेत्रमा देखिएको सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान गर्दै अनुदानसहित नयाँ विरुवा रोप्न किसानलाई प्रोत्साहन गरिनेछ।

२१. सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही अघि बढाई पीडितको बचत फिर्ता गर्ने प्रक्रिया तुरुन्त सुरु गरिनेछ। सहकारी ठगीलाई कुनै पनि हालतमा राजनीतिक सौदाबाजीको विषय बनाइने छैन।

Advertisment

थप समाचार