काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् । अध्यक्ष ढकालले महासंघकै माग र पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए । उनका अनुसार पूराना र बाधक कानुनहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउन यो आयोगले महत्वपूर्ण भूमिका खेल्नेछ । ‘निजी क्षेत्र पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करिब ३० वटा कानुन, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन् ।’ विगतमा राजनीतिक अस्थिरताका कारण कतिपय काम हुन नसके पनि अब स्थिर सरकारसँगै ती समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे ।
Advertisment