Below Menu
Below Menu

कुखुरापालनबाट जीडीपीमा करिब ६१ अर्बको योगदान, ४५ प्रतिशत किसानलाई बजारकै पिरलो

कुखुरापालनबाट जीडीपीमा करिब ६१ अर्बको योगदान, ४५ प्रतिशत किसानलाई बजारकै पिरलो

काठमाडौं : नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१/८२ का अनुसार, कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको योगदान पुर्याएको देखिएको छ ।

तथ्याङ्क अनुसार, नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ । जसमध्ये १० करोडभन्दा बढी कुखुरा बिक्री हुने गर्दछन् । यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वार्षिक रूपमा देशभर २५ करोड ८६ लाख २६ हजार ३४० केजी ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको छ ।

कुखुरा उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै पहिलो स्थानमा रहेको छ । बागमती प्रदेशमा मात्रै ९ करोड ३९ लाख केजीभन्दा बढी मासु उत्पादन हुन्छ, जसको बजार मूल्य २१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी छ ।

यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराज जातका कुखुराबाट राम्रो आम्दानी भइरहेको सर्वेक्षणले देखाएको छ । कोइलर÷गिरिराजबाट देशभर १ अर्ब ५६ करोड र लेयर्स÷प्यारेन्ट कुखुराको मासुबाट १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी संकलन हुने गरेको छ ।

सर्वेक्षणका अनुसार, ब्रोइलर कुखुरालाई औसत ४३.७ दिन पालेर सरदर २.६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ । यद्यपि, व्यवसायमा जोखिम पनि उत्तिकै देखिएको छ। कुल पालिएका कुखुरामध्ये करिब १०.४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको पाइएको छ । साथै, करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन् ।

प्रदेश अनुसार मूल्यमा भिन्नता

ब्रोइलर कुखुराको बिक्री मूल्यमा भने प्रदेशगत रूपमा ठूलो भिन्नता देखिएको छ । भौगोलिक विकटता र ढुवानी खर्चका कारण कर्णाली प्रदेशमा मासुको मूल्य सबैभन्दा बढी (औसत २७८ रुपैयाँ प्रति केजी) रहेको छ ।

त्यसैगरी, मधेश प्रदेशमा सबैभन्दा कम (औसत १९२ रुपैयाँ प्रति केजी) मा ब्रोइलर कुखुरा बिक्री हुने गरेको छ । समग्रमा, कुखुरापालन क्षेत्रले नेपालको ग्रामीण तथा सहरी अर्थतन्त्रमा ठूलो रोजगारी र आम्दानीको अवसर सिर्जना गरिरहेको यस तथ्याङ्कले पुष्टि गरेको छ ।

बजार र पुँजीको अभाव मुख्य चुनौती

नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने कुखुरापालन व्यवसायमा अहिले बजार र लगानीको अभाव सबैभन्दा ठूलो अवरोधका रूपमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको एक सर्वेक्षण अनुसार प्रदेशगत तथ्याङ्क अनुसार, झण्डै आधा व्यवसायीहरूले उत्पादित वस्तुको उचित बजार नपाएको गुनासो गरेका छन् ।

सर्वेक्षणका अनुसार नेपालभरका ४५ प्रतिशत कुखुरापालक किसानले बजारको अभावलाई प्रमुख समस्या मानेका छन् । प्रदेशगत रूपमा हेर्दा लुम्बिनीमा ५६.५ प्रतिशत, कोशीमा ५४.६ प्रतिशत र बागमती प्रदेशमा ५१ प्रतिशत किसानहरूले बजार नपाएको समस्या झेल्नुपरेको छ । यी प्रदेशहरू उत्पादनका हिसाबले अगाडि भए पनि उचित वितरण प्रणाली र बजार पहुँचमा भने पछाडि देखिएका छन् ।

बजारपछि कुखुरापालन क्षेत्रको दोस्रो ठूलो समस्या पुँजीको अभाव २०.५ प्रतिशत देखिएको छ । विशेषगरी मधेश प्रदेशमा ३५.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३२.४ प्रतिशत किसानहरूले व्यवसाय विस्तार र सञ्चालनका लागि आवश्यक लगानी जुटाउन कठिन भइरहेको बताएका छन् ।
विभिन्न प्रदेशमा समस्याका प्रकृतिहरू फरक–फरक पाइएका छन् ।

कर्णाली प्रदेशमा यहाँ ३१.१ प्रतिशत किसानले चल्लाको गुणस्तरमा कमी भएको गुनासो गरेका छन भने १०.६ प्रतिशतले प्राविधिक सेवाको अभाव झेलिरहेका छन् । व्यवस्थापनमा पनि यहाँ २९.५ प्रतिशत समस्या देखिएको छ ।

गण्डकी प्रदेशमा व्यवस्थापनमा समस्या १४.६ प्रतिशत र कामदारको अभाव ५.० प्रतिशत मुख्य चुनौतीका रूपमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कामदारको अभाव ७.३ प्रतिशत अन्य प्रदेशको तुलनामा बढी देखिएको छ ।

Advertisment

थप समाचार