रामेछाप : रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ।
संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ पनि मैदानमा छन्।
निर्विरोध चयन हुने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, महासचिवमा यज्ञ प्रसाद सुवेदी, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहेका छन्।
त्यसैगरी, संयुक्त व्यवसायी टिमबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन भएका छन् । महिला सदस्यमा मञ्जु माझी निर्विरोध हुँदा खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ चयन भएका छन्।
यस पटक पहिलोपटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण निर्विरोध रूपमा कार्यसमितिमा प्रवेश गरेका छन्।
संघको १५ औँ वार्षिक साधारणसभा चैत १९ र ९ औँ जिल्ला अधिवेशन तथा निर्वाचन चैत २० गतेका लागि तय गरिएको छ । अध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई संघको आगामी नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ।
Advertisment