Below Menu
Below Menu

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ: अध्यक्ष ढकाल

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्।

महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालको सुरुवातमा लिएका पाँच वटा प्रमुख एजेन्डा अधिकांश पूरा भइसकेको दाबी गरे।

उनले भने, “महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सक्यो भने राम्रो हुन्छ । तीन वर्षअघि सपथ लिँदा उठाएका पाँचवटा एजेन्डामध्ये धेरैजसो पूरा भइसकेका छन् । निजी संस्थालाई शिक्षण संस्थाजस्तै शान्ति क्षेत्रका रूपमा लिनुपर्छ भन्ने हाम्रो धारणा थियो, जसअनुसार व्यवसायिक प्रतिष्ठानप्रति २०४६ सालपछिको दृष्टिकोण परिवर्तन गर्न महासंघले ‘निजी क्षेत्र संरक्षण र योजना रणनीति’ अघि सारेको हो।”

ढकालले निजी क्षेत्रमाथि हुने अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिँदै शिक्षण संस्थानजस्तै व्यवसायिक प्रतिष्ठानहरूलाई पनि शान्ति क्षेत्रका रूपमा हेरिनुपर्ने बताए। २०४६ सालपछि निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले महासंघको पहलअनुसार सरकारले समेत सोही दिशामा निर्णय गरेको दाबी गरे।

उनले महासंघभित्र सहमतिको संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू र वरिष्ठ उपाध्यक्षबीच समन्वय भएमा उक्त समूहलाई खुला रूपमा समर्थन गर्ने संकेत पनि दिए।

Advertisment