Below Menu
Below Menu

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी

काठमाडौं : आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि धादिङका व्यवसायी रुद्रबहादुर खत्रीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

बेदबहादुर श्रेष्ठको नेतृत्वमा रहेको प्यानलबाट खत्रीले उम्मेदवारी दिएका हुन्। उक्त प्यानलमा उपाध्यक्ष पदका उम्मेदवारहरूमा कृष्णबहादुर गुप्ता (जिल्ला/नगर), राजकुमार दाहाल (वस्तुगत) र कृष्णभक्त श्रेष्ठ (एशोसियट) रहेका छन्।

धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका खत्रीले लामो समयदेखि निजी क्षेत्रको संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। २०६० सालदेखि संघको कार्यसमिति सदस्यबाट आफ्नो यात्रा सुरु गरी कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै संस्थालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएका छन्।

उनको नेतृत्वमा धादिङ उद्योग वाणिज्य संघले व्यवसायीमैत्री कार्यक्रमहरू सञ्चालन, संस्थागत पारदर्शिता अभिवृद्धि तथा स्थानीय उद्यमीहरूको क्षमता विकासमा उल्लेखनीय पहलहरू भएका छन्।

खत्री धादिङस्थित श्रोतपरिचालन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका छन्। उक्त सहकारी संस्थालाई वित्तीय अनुशासन, प्रभावकारी श्रोत परिचालन तथा सदस्यमुखी सेवामार्फत नेपालकै उत्कृष्ट संस्थामध्ये एकका रूपमा स्थापित गर्न उनको नेतृत्व महत्वपूर्ण रहेको छ।

उनले अनुभव, इमानदारी र व्यावसायिक प्रतिबद्धताका आधारमा कोषाध्यक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बागमती प्रदेशका उद्योगी–व्यवसायीबाट समर्थनको अपेक्षा गरेका छन्।

खत्रीले आफ्नो उम्मेदवारीमार्फत प्रदेशस्तरका उद्योगी-व्यवसायीको हकहित संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन्। साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच सुनिश्चित गर्ने, सहकारी र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्ने तथा संस्थागत वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रमुख एजेण्डाका रूपमा अघि सारेका छन्।

प्रदेशको कार्यालय भवन निर्माण गर्ने टिमको प्रमुख एजेन्डा छ । त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना समेत सार्वजनिक गरेका छन्।

Advertisment

थप समाचार